गोरखा । असारको हपहपी गर्मी, एउटा ढोका मात्र भएको, बिनाझ्यालको एक कोठे टहरो । जस्ताले छाएको होचो र साँघुरो घरभित्र घामको रापले बसिनसक्नु हुन्छ ।
गोरखाको सहिदलखन गाउँपालिका–१ बक्राङ समिडाँडाकी २१ वर्षीया मनिका परियार यही घरमा बस्छिन् । उनीमात्रै होइन एक महिने छोरालाई यही टहरोभित्र हुर्काइरहेकी छन् ।
टहरा उनको आफ्नै पनि होइन । स्थानीय पार्वती परियारले दिएकी हुन्। पार्वती नातामा मनिकाको काकी हुन् । उनैले शीर लुकाउने ठाउँ दिएपछि घर र माइतीबाट एक्लिएकी मनिकाले राहत पाएकी छन् ।
पेटमा गर्भ छँदै हो श्रीमानले उनलाई छाडेको। गत जेठ १० गते गोरखा अस्पतालमा उनले छोरा जन्माइन् । तर अहिलेसम्म पनि नाम राख्न पाएकी छैनन् ।
‘बाबु एक महिनाको भइसक्यो तर नाम के राख्ने केही सोचेकी छैन । न्वारान गरेको भए पो नाम राख्नु,’ उनले भनिन् ।
धादिङको गजुरी गाउँपालिका–२ छेपाङका मिलन श्रेष्ठसँग मनिकाले २०८० मंसिरमा बिबाह गरेकी थिइन्। अन्तरजातीय भएकाले त्यतिबेलै पनि मनिकाले बिबाह गर्न मानेकी थिइनन् ।
‘तपाईं नेवारको छोरो, म दमाइकी छोरी । तपाईंको घरपरिवारले मान्दैन, नबोलौं भन्थें म । ऊ जिद्दी, मलाई फकाएर, घुर्क्याएर, एकपटक त तीन तले घरको छतबाट हाम फाल्यो,’ मनिकाले भनिन्, ‘जीवनमा कहिले कसैको माया नपाएकी म, उसको कुरामा सजिलै फसिहालें ।’
मनिकाका अनुसार बिबाह धुमधामसँग भएको थियो । भोजभतेर पनि भएको थियो । मिलनले घरमा मनिका बाहुनकी छोरी हुन् भनेका रहेछन् ।
‘मैले ढाँट्न हुन्न भनेकी थिएँ तर उसले बिहे भइसकेपछि जसरी पनि मान्छन्, चिन्ता नगर भन्थ्यो । मैले पनि उसले भनेजस्तै गरें,’ मनिकाले भनिन् ।
बिहेपछि उनीहरू चितवन फर्किएका थिए । उनीहरू दुवैजना चितवनको भरतपुर महानगरपालिका–१ गोद्राङमा रहेको कोकाकोला फ्याक्ट्रीमा काम गर्थे ।
मनिकाले त्यो फ्याक्ट्रीमा २०७५ देखि हो काम गर्न थालेको। त्यतिबेला उनी १४ वर्षकी थिइन् । गाउँकै चिनजानकी दिदीसँग पछि लागेर उनी चितवन आएकी थिइन् । उनैले त्यो फ्याक्ट्रीमा काम लगाइदिएकी थिइन् ।
सँगैको साथीहरू पास भएर माथिल्लो कक्षा पुग्दा म आठ कक्षामा फेल भएँ । त्यसपछि लाज लागेर पढ्न गइनँ । घरको आर्थिक अवस्था पनि राम्रो थिएन, अभावै अभाव थियो । त्यसैले दुईचार पैसा कमाउँछु भन्ने सोचेर चितवन पसेकी थिएँ,’ उनले विगत सम्झिइन् ।
मिलनसँग उनको भेट पनि काम गर्न ठाउँमै भएको थियो । सँगै काम गर्दा चिनजानसँगै नजिक हुन थाले ।
‘पछिपछि त बिहे नगरे आत्महत्या गर्छु भन्दै धम्की दिन थाल्यो,’ उनले भनिन्, ‘ उसले त्यस्तो गर्दा माया गर्छ होला नि त भन्ने लाग्यो । फ्याक्ट्रीमा काम गर्ने अरु दिदीबहिनीले पनि यो त पागल छ तेरो लागि, केही गरिहाल्यो भने गाल पर्छ भन्थे त्यसैले, पनि बिहे गरेकी हुँ ।’
उनीहरू चितवन फर्केपछि घरपरिवारले मनिकाको जात थाहा पाएछन् ।
‘एक दिन मिलनका बा-आमाले फोन गर्नुभयो र तिमीहरू मर्यौं, अब यहाँ नआउनु भन्नुभयो,’ मनिकाले भनिन्, ‘त्यसपछि उसको घर जाने कुरै भएन ।’
बिहे गरेकै वर्षको चैतमा कम्पनीले पनि उनीहरूसहित थुप्रै कर्मचारीलाई निकाल्यो । त्यसछि खान बस्नै समस्या हुन थाल्यो। ०८१ लागेपछि दुवैजना काठमाडौं आए । मिलन मासु पसलमा काम गर्न थाल्यो । मनिकाले पनि काम खोजिरहेकी थिइन् ।
मंसिरमा उनले आफू गर्भवती भएको थाहा पाइन् । दुवै जना आफ्नो खुट्टामा उभिएका थिएनन् । त्यसैले बच्चा पाउन हुँदैन भन्ने विचार मनिकाको थियो । मिलन भने जहिले पाए पनि पाउनै पर्छ भन्थ्यो । जसो तसो हुर्काइएला नि भनेर आँट्यौं,’ मनिकाले भनिन् ।
गर्भवती भएपछि मनिकालाई डेंगी संक्रमण भयो । डाक्टरले पनि उपचारपश्चात गाउँघरतिरै गएर बस्न सुझाव दिएका थिए । काठमाडौं बस्न पनि समस्या नै थियो । गजुरीमा घरपरिवारले मरिसकेको भनेको थियो । मनिकाले गोर्खा जाने भइन् ।
‘मिलनलाई उतै काम गर्नु भनेर म माइत आएँ । पछि त, ऊ पनि काम छाडेर गोरखा आयो,’ उनले भनिन् । दुवैजना बक्राङ आएर बसेको केही समयपछि उनले मिलनलाई काम गर्न झापा पठाइन् । बक्राङकै दाजुभाइहरूसँग पैसा सरसापटी गरेर मिलनलाई काम गर्न झापा पठाएको उनी बताउँछिन् ।
“यहाँ गाउँमा खासै काम पाइन्न। बच्चा जन्मिएपछि पैसा चाहिन्छ भनेर मिलनलाई गएको पुसमा यतै गाउँको दाजुभाइमार्फत झापा पठाएँ। त्यतिबेला मसँग मोबाइल थिएन । मिलन झापा गएपछि हाम्रो खासै फोन सम्पर्क पनि भएन,’ उनले भनिन् ।
एकदिन गाउँकै दिदीबहिनीले मिलनले फेसबुकमा अर्कै केटीको तस्बिर हालेका छन् भनेर मनिकालाई सुनाए । मनिकाले तिनै दिदीबहिनीको मोबाइलबाट मिलनलाई फोन गरिन्। फेसबुकमा अर्कोको फोटो हालेको विषयमा सोधपुछ गर्दा मिलन जबाफ दिन होइन झगडा गर्न तम्सन्थे ।
‘मैले धेरै नै बोलाएपछि बल्लबल्ल फागुनको १६ गते यहाँ आयो। मेरो लागि मर्न तयार भएको मिलन थिएन, यतिबेला अर्कै भइसकेको रहेछ । उसको चारपाँच दिन बसाईमा हामीबीच सय पटक झगडा भए । त्यसपछि ऊ निस्केर गयो, त्यसयता उसको कुनै खबर छैन,’ उनले भनिन् ।
ऊ घरमा आमाले बोलाउनुभएको छ भनेर फागुनमा निस्केका थिए । त्यसको केही दिनमै पार्वतीको मोबाइलमा मिलनका गाउँले भाइले फोन गरेका थिए । फोन गर्नेले मिलनले अर्कै केटी लिएर घर आएको छ भन्ने खबर दिएको थियो ।
‘यहाँबाट गएपछि पहिलाको बूढीले छोडेर गई भन्दै फेरि अर्को केटी घर लगेछ । दोस्रो केटी पनि अर्कै जातको लगेपछि दुवैजनालाई घरबाट लखेटिदिएको रे भन्ने उसको गाउँको एकजना भाइबाट थाहा भयो,’ मनिकाले गहँभरि आँसु पार्दै भनिन्, ‘मेरो पेटमा उसको बच्चा छ अनि, उ चाँहि यो सबै गर्दै हिँडेको छ भन्ने थाहा पाए पछि म छाँगाबाट खसेजस्तै भएँ । यो सबै सुन्ने बित्तिकै म केही नसोची काकीसँग १०० रूपैयाँ सापट मागेर खैरेनी पुगेँ । पैसा थिएन, गहनाको नाममा एउटा चाँदीको सिक्री र सानो चाँदीको औँठी थियो । खैरेनीमा त्यही बेचेँ। मसँग फोन पनि थिएन त्यसैले खैरेनीबाट मामाको छोरीलाई लिएर गजुरी गएँ । गजुरी पुगेर दिदीको फोनबाट मिलनलाई कति फोन म्यासेज गरे तर उठेन । म त पागलजस्तो कहाँ जाने कसलाई भन्ने भएँ । गजुरीमा एउटा पुलिसचौकी रहेछ । त्यहाँ उजुरी दिन गाको पैसा लाग्छ भन्नुभयो । मसँग फर्किनको लागिमात्र पुग्ने पैसा थियो । पैसाको यतिसम्म अभाव थियो कि पानी किनेर खाने पैसा समेत थिएन । पेटमा बच्चा छ, गाडीमा अरुले पानी खाको देखेर थुक निल्दै गजुरीबाट खैरेनी फर्कियौँ । सिक्री बेचेको पैसाले दिदी र मलाई आउन जान मात्र ठिक्क भयो । खैरेनी आएर एकरात मामाघर बसेँ । मनको पीडा कसलाई सुनाउनु, भोलिपल्ट घर फर्किएँ ।’
मिलन सम्पर्कविहीन भएपछि उनलाई गाउँका दिदीबहिनीहरूले यस्तो अवस्थामा छस् पक्कै आउँछ होला भन्दै सान्त्वना दिन्थे ।
“मिलन सम्पर्कविहीन भएको पनि तीन महिना बितिसक्यो । यसबीचमा मैले जे जति दुःखकष्ट भोगेँ त्यो सम्झँदा अब मलाई कोही चाहिन्न जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘जेठ ६ गतेको डेट थियो मेरो । तर, बच्चा पाउने सुरसार भएन। ९ गते बिना पैसा गोरखा अस्पतालमा भर्ना हुन गएँ। बच्चा पनि छ घण्टा अड्कियो । बल्लतल्ल बच्चा त जन्मियो। तर, बच्चालाई जन्डिस र थाइराइड देखिएछ । मलाई गोरखा अस्पतालमा राखेर बच्चालाई थप उपचार गर्न भरतपुर सरकारी अस्पताल लग्यो । बच्चालाई भरतपुर अस्पतालमा तीन दिन एनआइसियुमा राख्यो। मेरो उपचार, बच्चाको उपचार, सुत्केरी हुँदाको सबै खर्च खानापिना अहिलेसम्म सबै सहयोग जुटाएको पैसाले जसोतसो धानेको छु । गाउँको शिव विक (दाइ) र मन्दिरा विक (भाउजु)ले सबै सहयोग गर्नुभयो । गाउँमा अरुले पनि सहयोग जुटाएर सबै उपचार खर्च टारेको छु ।’
श्रीमानको साथको खाँचो हुँदा एक्लै परेकी मनिकालाई अब कसैसँग कुनै आशा छैन ।
‘यस्तो अवस्थामा छोडेर जाने पापीसँग के आशा राख्नु ? मेरो लागि त मरिसक्यो ऊ । अब आएर छोरालाई नाम दिए, उसको हकअधिकार दिलाइदिए हुन्छ । मचाहिँ अब यस्तै हो, आमाको अभाव बुझेकी छु । दुःखसुख गरेर बाबुलाई ठूलोमान्छे बनाउनु नै मेरो जीवनको लक्ष्य छ,’ उनले भनिन् ।
अन्जानमा बसेको सम्बन्ध र बिबाह हुँदै जन्मिएको छोराको नाम अन्जन राखिदिने सोच मनिकाको छ ।
‘उसको बाउ नआए पनि नाम अञ्जन राखिदिन्छु। के बन्छ त अब उसको भाग्यको कुरो हो, जे होस् यसको बाउ जस्तोचाहिँ नहोस्। असल, ठूलो मान्छे होस्,’ उनले भनिन् ।
मनिका आफू सात वर्षको हुँदा आमा बितेको बताउँछिन् ।
‘आमाको त केही सम्झना नै छैन । बुबा इण्डियातिर हुनुहुन्थ्यो आमा बित्दा । भाइ जम्मा दुई वर्षको थियो । म र भाइलाई हजुरआमाले हुर्काउनुभएको हो,’ उनले भनिन्, ‘आमा बितेको धेरै वर्षपछि मात्र बुबा घर आउनुभयो । बुबाले दोस्रो बिहे त गर्नुभएन तर हाम्रो हेरविचार पनि गर्न सक्नुभएन । गाउँमा यस्तै त हो । पैसाको अभाव, फेरि बुबा बूढो हुनुहुन्छ अरूले जस्तो काम पनि गर्न सक्नुहुन्न ।’
बुबाले आफू आठ कक्षामा पढ्दापढ्दै पढाइ छोड्दा, चितवनमा काम गर्न जाँदा, कलिलो उमेरमै बिहे गर्दा र अहिले बच्चा जन्माउँदा समेत केही नभनेको मनिका सुनाउँछिन् ।
‘बुबाले त केही भन्नुहुन्न, धेरै बोल्नु पनि हुन्न। त्यही भएर नै म र मेरो १९ वर्षको भाइ अहिले अलपत्र परेका हौं । भाइ पनि अहिले पोखरातिर गाको छ पढाइ छाडेर। तर, बुबालाई केही मतलब हुन्न । सायद आमा भइदिएको भए हामीलाई सम्झाउनुहुन्थ्यो होला, मेरो यस्तो अवस्था आउँदैन थियो होला । यदि यही अवस्थामा पनि आमा भइदिएको भए मेरो स्याहारसुसार गर्नुहुन्थ्यो होला,’ मनिकाले भनिन् ।
दुःखको रहमा पौडिएर हुर्केको अहिले झन ठूलो दुःखको सागरमा डुब्नुपरेको दुखेसो गर्दै उनले भनिन्, ‘मेरो जिन्दगी हाँडीबाट उछिट्टिएर भुङ्ग्रोमा परेको माछोझैँ भयो ।’
प्रतिक्रिया