काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी ) ले खेलसम्बन्धी नियमहरूमा व्यापक सुधार गर्दै सबै फर्म्याटमा महत्वपूर्ण परिवर्तन सार्वजनिक गरेको छ। विशेषगरी छोटो टी–२० खेलहरूका लागि पावरप्ले नियममा गरिएको परिवर्तनले सबैभन्दा बढी ध्यान तानेको छ। यी सबै नियमहरू आगामी जुलाई २ देखि लागू हुनेछन्।
छोटो टी–२० खेलका लागि नयाँ पावरप्ले नियम:
अबदेखि वर्षा वा अन्य कारणले छोटिएका टी–२० खेलहरूमा पावरप्ले ओभरहरू स्पष्ट रूपमा तय गरिनेछ। उदाहरणका लागि, ८ ओभरको इनिङ्समा २.२ ओभर मात्र पावरप्ले हुनेछ, जसमा दुई जना मात्र ३० यार्ड सर्कल बाहिर रहन सक्नेछन्। पावरप्लेको यो गणना क्रमिक रूपमा वृद्धि हुँदै १६ ओभरको खेलसम्म ४.५ ओभर हुने व्यवस्था गरिएको छ। यो प्रणालीले छोटो खेलमा ब्याटर र बलरबीचको सन्तुलन कायम राख्ने उद्देश्य राखेको छ।
टेस्ट क्रिकेटमा स्टप क्लक :
टेस्ट क्रिकेटमा ढिलो ओभर रेटलाई रोक्न ‘स्टप क्लक’ को प्रयोग सुरु गरिने भएको छ। अब प्रत्येक ओभर सकिएपछि फील्डिङ टिमले ६० सेकेन्डभित्र अर्को ओभर सुरु गर्नुपर्नेछ। यस नियमको उल्लंघन भएमा दुई चेतावनी दिइनेछ र तेस्रोपटक पाँच रनको पेनाल्टी लाग्नेछ। हरेक ८० ओभरपछि क्लक रिसेट गरिने व्यवस्था पनि गरिएको छ।
थुक प्रयोगमा ढीलो निर्णयको अन्त्य:
थुक प्रयोग अझै प्रतिबन्धित नै छ। तर अबदेखि, यदि खेलाडीले गल्तीले थुक प्रयोग गरे भने, बलको अवस्था दृश्य रूपमा परिवर्तन भएको नभएसम्म बल अनिवार्य रूपमा बदल्नुपर्ने छैन। यसले केही टोलीहरूले रणनीतिक रूपमा नियमको दुरुपयोग गरेर बल बदल्ने चलनलाई रोक्नेछ।
डीआरएसमा सुधारस् एउटै अपिलबाट अन्य अपिलको समीक्षा:
डिसिजन रिभ्यु सिस्टम (डीआरएस) मा पनि महत्त्वपूर्ण परिवर्तन गरिएको छ। अब यदि ब्याटरलाई क्याच आउट दिइएपछि रिभ्युमा एजे नभएको प्रमाणित भए, भने सोही रिभ्युमा एलबीडब्लुको पनि मूल्यांकन गरिनेछ। यस अवस्थामा, प्रारम्भिक निर्णय ‘आउट’ नै मानिनेछ, चाहे आउटको प्रकार बदलिएको भए पनि। यसले खेलमा थप पारदर्शिता र निष्पक्षता ल्याउने विश्वास गरिएको छ।
नो–बलमा पनि क्याचको समीक्षा अनिवार्य:
अबदेखि कुनै बल नो–बल भए पनि, त्यसमा क्याच गरिएको भए सो क्याचको सफाइबारे पनि टीभी अम्पायरले समीक्षा गर्नुपर्नेछ। यदि क्याच सफा देखियो भने केवल नो–बलको रन दिइनेछ, अन्य रन र आउटको मान्यता हुनेछैन।
जानबुझेर छोटो रन लिँदा थप कारबाही:
खेलमा अनुशासन र निष्पक्षता कायम गर्न जानबुझेर छोटो रन लिने खेलाडीलाई अब थप रणनीतिक सजाय दिइनेछ। पाँच रनको पेनाल्टी त पहिल्यै थियो, अब फील्डिङ टिमले कुन ब्याटर स्ट्राइकमा बस्ने भन्ने निर्णय गर्न पाउनेछ। यसले ब्याटिङ टोलीलाई सजायको थप प्रभाव दिनेछ।
घाइते खेलाडीको प्रतिस्थापन:
घाइते खेलाडीको सुरक्षालाई ध्यानमा राख्दै घरेलु प्रथम श्रेणी प्रतियोगितामा पूर्णकालीन विकल्प खेलाडी राख्न सकिने व्यवस्था गरिएको छ। तर यो सुविधा केवल बाह्य रूपमा देखिने गम्भीर चोटहरू (जस्तै हात भाँचिनु, टाउको चोट) को लागि मात्र लागू हुनेछ। मांसपेशी तानिने, क्र्याम्प्सजस्ता सामान्य चोटमा यो सुविधा लागू हुनेछैन।
आईसीसीले यी परिवर्तनहरूमध्ये केही नियमहरू टी–२० विश्वकपपछिको शृंखलामा प्रयोग गर्नेछ, भने केही नियमहरू २०२५ /२७ वर्ल्ड टेस्ट च्याम्पियनसिपमा पहिल्यै लागू भइसकेका छन्। नियम परिवर्तनको उद्देश्य क्रिकेट खेललाई थप निष्पक्ष, स्पष्ट र खेलाडीमैत्री बनाउनु रहेको छ।
प्रतिक्रिया