ओलीको विकल्प विद्या भण्डारी भन्दै हिंड्नेको खैरियत छैनः बडाल

ओलीको विकल्प विद्या भण्डारी भन्दै हिंड्नेको खैरियत छैनः बडाल


ग्लोब नेपाल
3.4k
Shares

काठमाडौं । एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले महाधिवेशन आउन बाँकी नै रहेका बेला नेतृत्वको विकल्प खोजी नगर्न कार्यकर्ता पंक्तिलाई निर्देशन दिए । ऋषि धमलासँग ‘जनता जान्न चाहन्छन’ कार्यक्रममार्फत् अध्यक्ष बडालले भने, ‘जसले अध्यक्ष ओलीको विकल्प खोज्छ, त्यसको खैरियत छैन ।’

उनले पार्टीमा अध्यक्ष केपी ओलीको विकल्प विद्या भण्डारी नभएको स्पष्ट पारे । ‘एमालेमा केपी ओलीको विकल्प विद्या भण्डारी हुँदै होइन, एमालेमा विकल्प धेरै नेता छन्’, बडालले भने । कुनै व्यक्ति भए हुन्छ, नभए हुँदैन भन्नु विचार नभएका मानिस भएको आरोप उनले लगाए ।

बडालले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रले एमालेमा विभाजनको रेखा कोर्ने डिजाइन गरेको छ । त्यसैले पार्टीमा धाँजा हुने खालका अभिव्यक्ति, व्यवहार र आचरण कसैले नगरौं । आपसमा रस्साकस्सरी नगर्न, गुटबन्दी नगर्न आग्रह, विचारमा बहस गर्न मेरो सुझाव छ ।’

एउटै डुंगामा बसेर डुंगा प्वाल पार्नेहरु डुब्ने चेतावनी उनको छ । पार्टी कमजोर पार्न खोज्नेहरु सकिने उनले बताए । बडालले गुटबन्दी एमालेमा सह्य नहुने र गुटबन्दी गर्नेको खैरियत पनि नरहने चेतावनी दिए ।

विद्या भण्डारी पार्टी राजनीतिमा फर्किए पनि उनको जिम्मेवारीबारे कुनै निर्णय नभएको भन्दै बडालले भदौमा हुने विधान अधिवेशनले टुंगो लगाउने उल्लेख गरे ।