थपिएको अवधिमा महाधिवेशन गर्न नसके कांग्रेसका भ्रातृ संस्था स्वतः भंग

थपिएको अवधिमा महाधिवेशन गर्न नसके कांग्रेसका भ्रातृ संस्था स्वतः भंग

केन्द्रीय समिति बैठक भोलि सोमबार


ग्लोब नेपाल
945
Shares

काठमाडौं। नेपाली काँग्रेसले अब एकपटकका लागि समयावधि थप्दासमेत महाधिवेशन नगर्ने भ्रातृ संस्थाहरूको केन्द्रीय समिति स्वतः भंग हुने भएको छ । तदर्थ समितिमा रहेका भ्रातृ संस्थाको अवधि कात्तिकसम्म थप्ने कांग्रेसले आन्तरिक तयारी गरेको छ ।

नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ, दलित संघलगायतका भ्रातृ संस्थाहरू तदर्थ समितिमा सञ्चालित छन् । पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीबाट गठित निर्देशक समितिलाई बोलाएर भ्रातृ संस्थाको अवस्था बारेमा ब्रिफिङ लिएका छन् ।

भ्रातृ संस्थाको महाधिवेशन गराउन सहजीकरण र समन्वय गर्ने गरी पार्टीबाट निर्देशक समिति बनाइएको थियो । गत चैत मसान्तसम्म महाधिवेशन गराउने गरी निर्देशक समिति बनाइए पनि प्रमुख भ्रातृ संस्थाले निर्वाचित समिति बनाउन सकेनन् ।

नेविसंघको निर्देशक समिति सदस्य प्रतिमा गौतमका अनुसार भ्रातृ संस्थाहरूलाई कार्यादेश दिएर महाधिवेशन उन्मुख गराउने गरी छलफल भएको जानकारी दिइन् । भ्रातृ संस्थाको अवधि थप्ने औपचारिक निर्णय भोलि सोमबारदेखि बस्ने केन्द्रीय समिति बैठकले गर्नेछ ।