टिपीएस सुबिधा लिएकाहरुलाई आव्हान

टिपीएस सुबिधा लिएकाहरुलाई आव्हान

'निराश नहुनुस्,संगठित हुनुस्'


ग्लोब नेपाल
2.6k
Shares

अमेरिका । नेपालको महाविनाशकारी भूकम्पपछि अमेरिकाले यहाँ कानुनी कागजपत्रबिहीन अवस्थामा बसेका नेपाली आप्रवासीहरुलाई अस्थायी सुरक्षाको अनुमति प्रदान गरेको थियो। सन् २०१५ देखि सुरु गरेको यो सुबिधा अन्तर्गत अमेरिकामा काम गर्न पाउने र अनुमति लिएर देशमा रहेका परिवार र आफ्ना आफन्तसँग पुनर्मिलन गरेर फेरि अमेरिका फर्कन पाउने मुख्य विषय थियो। जसअन्तर्गत सुरुमा करिब २५ हजार नेपालीहरुले यो सुबिधा लिएको अनुमान थियो ।

अमेरिकाले पनि नेपालीहरुलाई दिई रहेको यो सुबिधा नवीकरण गरेर थप्दै गयो। पछिल्लो नवीकरण अबधि यही जुन १५ सम्म थपिएको थियो। तर राष्ट्रपति ट्रम्प प्रशासनले यो नवीकरण अवधि सकिनु केही पहिले मात्र अब टिपीएस सुबिधा विस्तार नगरिने भने अगष्ट ५, २०२५ देखि यो सुबिधा खारेज हुने घोषणा गरेको छ।

अमेरिकी गृह प्रशासनको यो घोषणापश्चात अस्थायी सुविधा लिएर बसिरहेका हजारौं नेपालीहरुको कानुनी हैसियत अन्यौलमा पुगेको छ। यो सुबिधा लिएकाहरुले घर, व्यापार व्यवसायसमेत सुरु गरेका छन् तर अब अगष्ट ५ पछि के हुने हो भन्ने अन्यौल र चिन्ताले नेपालीहरु दवाबमा छन्। ‘अझै पनि नेपाल सरकारले कुटनीतिक माध्यमबाट परिस्थिति बुझाएर अनुरोध गरे अमेरिकाले पुन:विचार गरिदिन्छ कि भन्ने आशा हो अन्यथा यस्तो सुबिधामा बसेकाहरुले अब अगष्ट ५ भित्र कि त आफ्नो स्टाटस परिवर्तनको प्रक्रिया सुरु गर्नुपर्यो कि त दिएको अवधिभित्र देश छाड्नुपर्यो’ अध्यागमन सम्बन्धी एक नेपाली कानुन व्यवसायीले भने।

२५ हजारभन्दा बढी नेपालीले सुरुमा यो सुविधा लिए पनि पछिल्लो अनुमान अनुसार सात हजारभन्दा बढी नेपालीहरु मात्र अहिले टिपीएसमा रहेको बताइन्छ। बाँकी अन्यले यस अवधिमा आ आफ्नो स्टाटस परिवर्तन गरेर स्थायी बसोवासको प्रबन्ध गरिसकेका छन्।

यसैबीच टीपीएस सुविधा लिएकाहरुको सुरक्षाका लागि काम गरिरहेका दुई संस्थाले नेपाली टीपीएस सुविधा लिइरहेकाहरुलाई अन्य विकल्पका बारे सोच्न आव्हान गर्दै भनेका छन्,-‘आशा नमार्नुहोस्। अझै केही विकल्प छन्। हतारिएर निराश हुने हाम्रो विकल्प हुँदै होइन।’ उनीहरुले भनेका छन्,-‘ अन्य टिपीएस होल्डरहरुसँग जोडिनुहोस्। सामुहिक बल नै हाम्रो शक्ति हो।’ युनाईटेड फर टीपीएस नेपाल र नेशनल टीपीएस एलाइन्सले यस्तो आव्हान गरेका हुन्।

यी दुई संस्थाले संयुक्त अपिल गर्दै ग्लोब नेपाल डटकमलाई प्रेषित गरेको विज्ञप्ति:
यहाँहरुलाई अवगत नै छ अमेरिकाले नेपालीहरुलाई दिई आएको अस्थायी सुरक्षाको अनुमति (स्टाटस) आगामी अगष्ट ५ देखि अन्त हुँदैछ । नेपालका लागि सन् २०१५ को महाविनाशकारी भूकम्पपछि अमेरिकाले यस्तो अस्थायी सुविधा प्रदान गरेको थियो। पछिल्लो एक तथ्यांक अनुसार, हाल करिब ७,८०० नेपाली नागरिकहरु अमेरिकामा यो सुविधामा रहेका छन्। यो सुबिधा अन्त हुनासाथ यति धेरै संख्यामा रहेका नेपालीहरुसंग आश्रित परिवारलाई पनि प्रत्यक्ष असर पर्नेछ।

टिपीएस खारेजीको यो निर्णयले अमेरिकामा कम्तिमा १० बर्षदेखि मेहनत गरेर कर तिरेका, परिवार र घरजम गरिसकेका, घर-सम्पति जोडेका, व्यवसायहरु खोलेका र अमेरिकामै स्थायी बसोवासको तयारी गरेर यहाँको सम्मृद्धि र विकासमा योगदान गर्न तयार भैसकेका करिब ७,८०० नेपालीहरु र उनीहरुका परिवारहरुले अचानक देशनिकालाको सम्भावनादेखि त्रसित हुनु परेको छ।

तसर्थ यस्तो परिस्थितिमा हामी आत्तिने होइन, आ आफ्नो सुरक्षा र अमेरिकाले दिने अन्य वैकल्पिक सुबिधाका बारे खोजी गर्ने हो। यसका लागि आउनुस् तपाईं हामी जुटौं। हामीहरुको सामुहिक पहलमा नै हामीले प्राप्त गरेको यो सुबिधा निरन्तरताका लागि आवाज सशक्त बनाउन सक्छौं र कानुनी प्रबन्धको बाटो पनि खोज्न सक्छौं। हामी एक्लै छैनौं कानुनी विशेषज्ञहरु र आप्रवासीको हकहितको वकालत गर्ने विभिन्न संस्थाहरु हाम्रो सुरक्षाको लागि लागि परेका छन्।

हामी सबै मिलेर यो अभियानमा जोडिऔं।

यदि तपाईं नेपाली टिपीएस सुविधामा हुनुहुन्छ भने,
● आशा नमार्नुहोस्। अझै केही विकल्प छन्। हतारिएर निराश हुने हाम्रो विकल्प हुँदै होइन।
● तपाईंको परिस्थितिमा अर्को स्टाटसमा जान (Change of Status) मिल्छ या मिल्दैन भनेर कानुनी सल्लाह गर्नुहोस्
● अन्य टिपीएस होल्डरहरुसँग जोडिनुहोस्। सामुहिक बल नै हाम्रो शक्ति हो।
अनि…
● टिपीएस होल्डरहरुको सुरक्षाका लागि आवाज उठाइरहेका संस्थाहरुको सदस्य बन्नुहोस्। त्यस्ता केही संस्थाहरु मध्येका United for TPS Nepal र National TPS Alliance दुई मिलेर नेपाली टिपीएस होल्डरहरुको लागि नजिकबाट समन्वय गर्दै अभियान चलाइरहेको छ।

यी संस्थाहरुको सदस्यता लिनुको प्रमुख फाइदाहरु:
■ टिपीएसको कानुनी र वकालतको अभियानबारे सम्बन्धी सत्य तथ्यमा आधारित जानकारीहरु पाउनु हुनेछ।

■ यदि नेपालको टिपीएस खारेजको निर्णय विरुद्ध अदालती मुद्धा दायर भएको खण्डमा, अनि यदि अदालतले देशव्यापी निषेधाज्ञा (National Injunction) दिन मानेन भने, सो मुद्दामा संस्थागत वादी बसेको संस्थाको सदस्यहरुले सिमित निषेधाज्ञा भित्रै पनि थप सुरक्षा पाउनेछन्।

Untied for TPS Nepal (UTPSN) को सदस्य बन्न यो लिंकमा जानुहोस्: https://bit.ly/4jFrFSE

National TPS Alliance (NTPSA) को सदस्य बन्न यो लिंकमा जानुहोस्: https://bit.ly/3HwRvLo