काठमाडौँ । शिक्षा विधेयकमा सहमति जुटाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त सानेपास्थित शेरबहादुर देउवाको कार्यकक्ष पुगेका छन्।
देउवाको कांग्रेस केन्द्रीय कार्यालयमा बैठक चलिरहेका बेला मन्त्री पन्त छलफलका लागि त्यहाँ पुगेका हुन्।
शिक्षकको पदपूर्तिसम्बन्धी प्रावधानमा सहमति जुट्न नसकेपछि मन्त्री पन्तले छलफलमार्फत समाधान खोज्ने प्रयास गरेका हुन्।
सभापति देउवा जारी पार्टीको केन्द्रीय समिति बैठकबाट निस्किएर शिक्षामन्त्री पन्तसँग छलफल गरिरहेका छन् ।
छलफलमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे पनि सहभागी छन् ।
यसअघि शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको वार्ता सहमतिबिनै टुंगिएको थियो। मन्त्रालयले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रस्ताव गरेको थियो, तर महासंघले यसमा असहमति जनाएको थियो।
शिक्षक महासंघले पनि यस्तै प्रस्ताव अघि सारेको भए पनि केही विषयमा मतभेद कायमै रहेको छ। समितिबाट विधेयक पारित हुने भनिए पनि सहमति नजुट्दा प्रक्रिया अघि बढ्न सकेको छैन। शिक्षक महासंघका तर्फबाट विधेयक पारित गराउन दबाब समेत बढाइएको छ।
प्रतिक्रिया