काठमाडौँ । सरकारमा रहेको नेकपा एमालेले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग निजामती सेवा विधेयकमा देखिएको अनियमितताको जिम्मेवारी लिँदै राजीनामा दिन आग्रह गरेको छ।
निजामती सेवा विधेयकमा समावेश कुलिङ पिरियड सम्बन्धी प्रावधानमा भएको अनियमितता र हस्तक्षेपबारे समितिमा हाल छलफल जारी छ। छलफलका क्रममा पूर्व कानुन मन्त्रीसमेत रहेका सांसद पदम गिरीले अन्तिम प्रतिवेदनमा सभापतिको हस्ताक्षर रहेको भन्दै जिम्मेवारी स्वीकार गर्दै उनले राजीनामा दिनुपर्ने धारणा राखे। साथै, उनले समितिका सचिव सुरजकुमार दुराले पनि पदबाट राजीनामा दिनुपर्ने माग गरे।
उनले भने–‘समितिले महिनौं लगाएर छलफल गरेर कुलिङ अफ पिरियड २ वर्षसम्म कायम रहने एक मतले पारित गरेको विषय हो । तर, सभापति र सचिवको हस्क्षातर भएको प्रतिवेदन फरक ढंगले प्रस्तुत गरियो । नेपालको इतिहासमा यो लज्जास्पद र घिनलाग्दो अवस्था हो । यो हदसम्मको जनप्रतिनिधिले काम गर्छन् भन्ने कल्पना गर्न नसकिने अवस्था हो । त्यसैले जिम्मेवारी लिँदै सभापति र सचिवले राजीनामा दिनुपर्छ ।’
यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयकमा भएको कथित षड्यन्त्रमा संलग्न सबै व्यक्तिमाथि कारबाही गर्नुपर्ने माग राखेको छ। राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सभापति र सचिवसहित सम्बन्धित सबैमाथि गम्भीर छानबिन आवश्यक रहेको बताए।
उनले भने–‘सानोतिनो षड्यन्त्र भएको होइन, संसद्लाई बदनाम गर्ने गरी ठूलो षड्यन्त्र भएको छ यसलाई यसै छाड्न हुँदैन । उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनु पर्यो । सभापतिदेखि सबैमाथि छानबिन गर्नु पर्यो र दोषीमाथि कडा कारबाही गर्नुपर्यो ।’
उनले विधेयक तयार हुँदै गर्दादेखि नै अनेक अड्चन आएको स्मरण गर्दै गम्भीर षड्यन्त्र गरिएको जिकिर गरे ।
त्यस्तै, नेपाली कांग्रेसका सांसदले कुलिङ पिरियडको व्यवस्थासम्बन्धमा भएको बदमासीबारे छानबिन गर्न संसदीय समितिको माग गरेका छन् ।
कांग्रेस सांसद हृदयराम थानीले उच्चस्तरीय संसदीय समिति बनाएर छानबिन गर्न माग गरेका हुन् ।
एक जना व्यक्तिले मात्रै चाहेर यति ठूलो चलखेल हुन नसक्ने भन्दै उनले यसको पछाडि ठूलै समूह रहेको आशंका व्यक्त गरे ।
उनले भने–‘निजामती सेवा विधेयकमा भएको छेडखानीका विषयमा निष्पक्ष छानबिनका लागि उच्चस्तरीय संसदीय समिति बनाइनु पर्दछ । समितिका टाठोबाठो सभापति, सचिवले यो विषय जानकारी छैन भन्न मिल्दैन । उहाँहरूले हामीलाई थाहा भएन कसरी भन्न सक्नुभयो ?’
उनले निजामती सेवा विधेयकमा भएको चलखेलमा सामेल भएकाहरूलाई कारबाही गर्नुपर्ने बताएका उनले संसद्को धज्जी उडाइएको जिकिर गरे ।
उनले सभापतिले यो टुंगो लगाउने काममा प्रयोग भएको कोर टिमको बारेमा पनि जानकारी गराउनु पर्ने बताए ।
नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न सुझाव दिंदै उनले भने–‘नैतिकताको हिसाबले मार्गप्रशस्त गरिदिनुपर्छ । अब सचिवले पनि यो पदमा बसिरहन मिल्दैन ।’
प्रतिक्रिया