मलाई थाहा थियो, आज बैठक बोलाउँदा सबैभन्दा आलोचनाको पात्र म हुन्छु भन्ने । यो कुरा जानी–जानी मैले बैठक आह्वान गरेको हुँ । संलग्नता बिना नै मेरो निष्ठा र प्रतिष्ठामा आँच आउने काम यो निर्णयले भएको छ ।
कुलिङ अफ पिरियड दुई वर्ष राख्नुपर्छ भनेर मैले नै स्ट्यान्ड लिएको हुँ, उपसमितिले कुलिङ अफ पिरियड एक वर्ष राख्नुपर्छ भनेर ल्याउँदा पनि सम्पूर्ण माननीयहरुको साथ र सहयोगले दुई वर्ष राख्नुपर्छ भनेर पारित गरेका हौं । तीन–तीन जना मन्त्रीहरुले यही समितिमा आएर हाम्रो निर्णयलाई स्वीकार गर्नुभएको छ । त्यो दफालाई नमिलाउने काम कानुन मन्त्रालय र मेरो सचिवालयबाट भएको मलाई अनुभूति भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले मलाई रिर्पोट दिनु भएन भन्नुभएको छ– जेठ १५ गते लोकतन्त्र दिवसको दिन थियो, मुख्यसचिव पनि साथमै हुनुहुन्थ्यो, टुडिखेलमा कार्यक्रम थियो । दिउँसो खाना खान मलाई बोलाउनुभयो, माननीय लीलानाथ श्रेष्ठ पनि साथैमै हुनुहुन्थ्यो, माननीय दिलेन्द्र बडुलाई बोलाइएको थियो ।
दिउँसो खाना खाइसकेपछि साँझ फेरि बोलाइयो । शिक्षामन्त्री रघुजी पन्त, सामान्य प्रशासन र वनमन्त्री हुनुहुन्थ्यो । वनको केही समस्या थियो, त्यहाँ । सामान्य प्रशासन मन्त्रीले आफू बस्ने कुर्सीमा रघुजी पन्तलाई राख्नुभयो ।
समितिले जेठ २ गते पारित गरेको विधेयक १५ गते सामान्य प्रशासन मन्त्रीलाई ड्राफ्ट देखाएँ । तपाईंहरुलाई आज जानकारी गराउँछु, अवकास पाएर मात्र हुँदैन, राजीनामा दिनेहरु पनि कुलिङ पिरियडमा जान सक्छन् । यसको साक्षी लीलानाथजी हुनुहुन्छ । मैले स्ट्याण्ड लिएर राजीनामा शब्द थपेको हुँ ।
पहिला निजामति कर्मचारी भन्ने मात्रै थियो, त्यहाँ पनि मैले सरकारी, अन्य र निजामति भन्ने शब्द राखे । मैले स्ट्याण्ड लिएर राखेकै हो, यसवापत मैले धेरै ठाउँबाट हप्की, धम्की, थर्काइ र तर्साइ खेपेकै हुँ । मलाई तानातान गरियो, मेरो कोटको लोगोसमेत हरायो ।
दफा ४ पछाडि ५ राख्ने काम कसले गरेको हो ? सचिवालय र सम्पूर्ण सांसद यो जान्न चाहन्छ । यो भनेको संसदमाथिको प्रहार हो । कानुन निर्मातामाथिको प्रहार हो । को–कसले खेल्दैछन् भन्ने कुरा हामीले जान्नु पनि पर्नेछ । माननीय रघुजी पन्त, म र दिलेन्द्र बडु बैठकमा थियौं, त्यही बेलामा माननीय उपप्रधानमन्त्रीको फोन आयो । फोनमा गफ गर्न रघुजी पन्त अर्को कोठामा जानुभयो ।
सामान्य प्रशासन मन्त्रीले मलाई भन्नुभयो, ‘मलाई प्रेसर बढी भयो, यो विधेयक आजै पेस गर्नुपर्छ ।’ यही कोठामा मन्त्रीज्यूले यसो भन्नुभएको हो । रघुजी पन्त साक्षी हुनुहुन्छ । रघुजी पन्तले आज नगरौं भन्नुभयो । असार यो २–३ गतेको कुरा हो । त्यसपछि विधेयक पेस गर्नुअघि म उहाँको कार्यकक्षमा गएँ, उहाँले भन्नुभयो, ‘सबै राम्रो रहेछ, एउटा यो थप्नु भएछ झ्न राम्रो भयो’ म त खुशी भएँ । अवकास मात्रै थियो, राजीनामा थपिएको हो । निजामति मात्रै थियो त्यहाँ पनि सरकारी र अन्य थपियो । मन्त्रीज्यूले भन्नुभयो, ‘ल धन्यवाद ! बडा राम्रो गर्नुभएछ ।’ सँगै लीलानाथ श्रेष्ठ पनि हुनुहुन्थ्यो ।
मैले मन्त्रीलाई रिर्पोट दिएको थिएँ, रिर्पोट पाइन भनेर अन्तर्वार्ता दिने मन्त्रीले ? राज्य व्यवस्थाले यसो ग¥यो भन्ने ? यो रिर्पोट लीलानाथको अगाडि दिएको मन्त्रीले ठीक छ भनेकै हुन् ।
हो, मेरो निष्ठामाथि प्रहार भएको छ । यो समितिबाट हामीले नागरिकता विधेयक पास ग¥यौं, संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी विधेयक पास गर्यौं । अनुगमन विधेयक पास गर्यौं, भ्रष्टाचारसम्बन्धी विधेयक पास गर्यौं ।
सबैभन्दा धेरै काम यो समितिले गरेको छ । तर, यो समितिलाई खुइल्याउने काममा केही मान्छे लागेका रहेछन् भन्ने कुरा आज थाहा पाउँदैछु म । यो कसले गरेको हो भन्ने कुरा आज थाहा पाउँदैछु म ।
सबै निजामति कर्मचारी खराब छन् भन्न म चाहन्न । कतिपय कर्मचारीको क्षमता, योग्यता र प्रतिष्ठा देख्दा हामीलाई गर्व लाग्छ । कतिपय आफैमात्र खाउँ, अरु भाँडमा जाओस् भन्ने मनोवृत्ति भएका कर्मचारी पनि हामीले देखेका छौं । त्यसलाई कन्ट्रोल गर्न पनि हामीले कुलिङ पिरियड ल्याउन खोजेका हौं ।
त्यसवापत हामीले कत्रो भनाइ खानुपर्यो, कठिनाइ ब्यहोर्नुपर्यो । सार्वजनिक रुपमा बेइजति हुनुपर्यो । हामीचाहिँ यो जस्ताको त्यस्तै छ भनेर लैजाने, बीचमै तुहाउने काम गर्नुहुन्छ ?
यो गम्भीर र अक्षम्य अपराध हो । छानबिनका लागि सभामुखलाई अनुरोध गर्न चाहन्छौं । छानबिनपछि गल्ती रहेछ भने यो रामहरि खतिवडा जस्तोसुकै सजायको भागी बन्न तयार छ ।
मार्ग प्रशस्त गर्न माननीयज्यूहरुले अनुरोध गर्नुभएको छ, म के भन्छु भने, ‘समितिले पास गरेको भन्दा बाहेक मैले थपेको ‘राजीनामा दिएपछि’ र ‘अन्य सरकारी’ दुईवटा शब्दभन्दा बाहेक अरु होइन ।
हामीले गरेको निर्णयलाई उल्ट्याउने र बिगार्ने कहाँ रहेछ भन्ने कुरा हामीले जान्न चाहेका थियौं, अलिअलि अनुभूत भयो । यसबारेमा छानबिन समिति बनाउन सभामुखसँग पनि हामी अनुरोध गर्दछौं ।
राजनीतिमा कसैको निगाहले म यहाँ आएको होइन, निर्वाचित भएर आएको हुँ, एक पटक होइन, त्योभन्दा बढी पनि भएको हुँ । मेरा बाबु सहिद भएर पनि आएको होइन, चन्दा बुझाएर पनि आएको होइन । म राजनीतिमा दुःखै गरेर आएको हुँ । क्यारेमबोर्डमा जस्तो एकातिर हिर्काएर अर्कोतिर छिराउने मान्छे पनि परिन् ।
मेरो निष्ठा र प्रतिष्ठाप्रति म आज पनि दृढ छु । कानुन बनाउने काम कठिन नै हुन्छ, मलाई पनि थाहा छ । तर, ममाथि आक्रमण भएको छ, प्रहार भएको छ । केही दिनअघि देखिएको गतिविधिलाई मैले नजिकबाट नियालिरहेको छु । प्रत्येक बैठकमा बिहान ९ बजेदेखि राति १० बजेसम्म म तपाईंहरुसँगै बसेको छु ।
हामीलाई थाहा नदिइ भएको निर्णय गलत मनसायले व्याख्या गर्ने ? यो हुनसक्छ ? गम्भीर अपराध भएको छ, यो कुराको छानबिन हुनुपर्छ ।
यो विधेयक पारित भएको ३५ दिनपछि लागू हुने शब्द माननीय रघुजी पन्तले राख्नुभयो । त्यो कुरा मैले मानिन् । सबै कुराको आफ्नो प्रकृया हुन्छ, त्यसैले मैले त्यो कुरा हटाएको हुँ ।
यो विधेयक तयार पार्दा भएको सबै कुरा तपाईंहरुसँग सेयर गर्न चाहन्छु । किनभने मेरो प्रतिष्ठा, निष्ठा र इमान्दारितामाथि प्रहार गर्ने काम भएको छ । सामाजिक सञ्जालमार्फत् यो रामहरि साच्चै बद्मास हो कि भन्ने भान गाउँका जनतासम्म पुगेको छ । त्यसलाई म क्लियर गर्न चाहन्छु ।
(समिति सभापति खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिमा दिएको अभिव्यक्ति)
प्रतिक्रिया