सचिवालय बैठकमा माधव नेपालको भनाइ: विचार मिल्नेसँग एकता गरिनेछ

सचिवालय बैठकमा माधव नेपालको भनाइ: विचार मिल्नेसँग एकता गरिनेछ



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी सचिवालय बैठकमा विचार मिल्ने पक्षहरूसँग एकता गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउने प्रयास आवश्यक रहेको बताएका छन्।

उनले भने, ‘अब हामी कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छ । हामी कम्युनिष्ट एकताको पक्षमा छौँ । त्यसैले विचार मिल्नेसँग विचार मिल्नेसँग एकता गरेर जान्छौँ । नभए कार्यगत एकता, सहकार्य पनि गर्न सकिन्छ ।’

आजको पार्टी बैठक छोटो समयका लागि बसेको थियो। बैठकमा समसामयिक राजनीतिक अवस्था, अध्यक्ष माधव नेपालमाथि लागेको अख्तियारको मुद्दा लगायत विषयमा छलफल गरिएको थियो।

अध्यक्ष नेपालविरुद्धको मुद्दापछि स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले दिएको टिप्पणी पनि छलफलमा आएको थियो। उनले आजको बैठकमा बोल्न समय मागेकी थिइन्। तर केही नेताहरूको स्वास्थ्यमा समस्या देखिएको भन्दै बैठक स्थगित गरिएको थियो। अब अर्को बैठक असार २२ गते बस्ने तय भएको छ।