काठमाडौं । उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक साता पनि नबित्दै अर्को सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरने भएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो दल संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिने बताइन् ।
प्रदेशमा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी बर्खास्तीमा परेपछि नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिने धम्की दिएको हो । अध्यक्ष श्रेष्ठले मुख्यमन्त्री कमल शाहले गठबन्धन संस्कृतिविपरित आफूहरुसँग परामर्श नगरी मन्त्री चौधरीलाई बर्खास्त गरेको भन्दै आपत्ति जनाइन् । उनले आज शुक्रबार सरकारबाट बाहिरिनेबारे औपचारिक निर्णय हुने उनको भनाइ छ ।
‘हामीले पार्टीमा अनौपचारिक निर्णय गरिसक्यौं’, उनले भनिन्, औपचारिक रुपमा हामी आज शुक्रबार संघीय र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं ।’
सो पार्टीका संरक्षक रेशम चौधरीले सरकारबाट समर्थन फिर्ता लिने निर्णय भएको पुष्टि गरे । बजेट निर्माणमा वित्तीय अनुशासन उल्लंघन गरेको, खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा कार्यकारी निर्देशक नियुक्त गर्दा परामर्श नगरेको जस्ता आरोप लगाउँदै मुख्यमन्त्री शाहले चौधरीको राजीनामा मागेका थिए ।
तर, उनले राजीनामा नदिने भन्दै आफूलाई बर्खास्त गरेर देखाउन मुख्यमन्त्रीलाई चुनौती दिएका थिए । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्तिका ७ सांसद् छन् ।
प्रतिक्रिया