काठमाडौं । देशकै जेठो र सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरमा रहेको केन्द्रीय क्याम्पसको छात्राबासमा सरसफाइ र आधारभूत व्यवस्थापन कमजोरी देखेपछि सांसदहरूले तत्काल अवस्था सुधार्न निर्देशन दिएका छन् ।
त्रिविको ईश्वरी कन्या छात्राबासअन्तर्गत ‘ङ’ ब्लकको भान्सा तथा पानीलगायतको प्रबन्धबारे अनुगमन गर्न हिजो दिउँसो कीर्तिपुर पुगेको प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले त्रिविका प्राचार्यलगायतका पदाधिकारीलाई निर्देशन दिएको हो ।
विश्वविद्यालयको छात्राबासको व्यवस्था अनुगमन गर्न संसदीय टोली पुगेको सम्भवतः यो पहिलो पटक हो । संसदीय टोलीलाई छात्राबास पुग्नासाथ भान्साको व्यवस्थापन देखाउँदै त्यहाँका विद्यार्थीले अत्यन्त फोहर भाँडाकुँडा प्रयोग गर्ने गरिएको, भान्साको सरसफाइको अवस्था दयनीय रहेको, भान्छाको टेबुल, बस्ने मेच फोहर रहेको देखाएका थिए ।
यसबारे बारम्बार गुनासो गर्दा प्राचार्यको कार्यालय, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा अन्य सम्बद्ध निकायले बेवास्ता गरेको र कतिपय अवस्थामा छात्राबासका वार्डेनलगायतबाट उल्टै रुखो व्यवहार हुने गरेको गुनासो गरेका छन् ।
छात्राबासको निरीक्षण र छात्राहरूको गुनासो सुनेपछि संसदीय टोलीले केन्द्रीय क्याम्पसका प्राचार्य अकलदेव मिश्र र प्रोक्टर राजेन्द्र कुवँरसँग समस्याबारे सोधपुछ गरेको थियो । सांसदहरूले आफूहरूले छात्राबासमा अवलोकन गर्दा सरसफाइ र स्वास्थ्य सुरक्षाको न्यूनतम मापदण्ड पनि नपुर्याइएको पाएको बताएका थिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका डा. ईश्वर सुवेदीले छात्राबासका समस्या तत्काल समाधान गर्न निर्देशन दिँदै उहाँले विद्यार्थीबाट फेरि पनि एउटै खालको गुनासो आए समितिले थप कदम चाल्ने चेतावनी दिए ।
प्रतिक्रिया