हर्क साम्पाङको श्रमदानमा सहभागी भएका वडाध्यक्षलाई बर्खास्त गर्न एमालेले गर्‍यो सिफारिस

हर्क साम्पाङको श्रमदानमा सहभागी भएका वडाध्यक्षलाई बर्खास्त गर्न एमालेले गर्‍यो सिफारिस


ग्लोब नेपाल
1.7k
Shares

काठमाडौं । एमालेले धरानका मेयर हर्क साम्पाङ राईसँग निकट सम्बन्ध राखेको भन्दै धरान उपमहानगरपालिका–४ का वडाअध्यक्ष धनबहादुर राईलाई बर्खास्तीको सिफारिस गरेको छ । वडाध्यक्ष राईमाथि मेयर राईले चलाएको श्रमदानमा सहभागी भएको अभियोग लगाएर एमाले धरान नगरकमिटीले बर्खास्तीका लागि माथिल्लो कमिटीमा सिफारिस गरेको हो ।

एमाले धरान नगरकमिटी उपाध्यक्ष पारस काङमाङ राईले पार्टी हितविपरीत काम गरेकाले भन्दै वडाध्यक्षबाट कारबाही गर्न जिल्ला कमिटी समक्ष सिफारिस गरिएको बताए ।

राई ०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट वडाअध्यक्ष निर्वाचित भएका थिए । सुरुदेखि नै मेयर हर्कसँग नजिक रहेको भन्दै एमाले नेताहरुले राईमाथि कारबाहीको चेतावनी दिँदै आएका थिए ।

‘उहाँ लामो समयदेखि पार्टी हित र निर्देशनविपरीत चल्नुभएको थियो’, एमाले धरान उपाध्यक्ष राईले भने, ‘पटकपटक पार्टी बैठकमा अनुपस्थित रहँदै आउनुभएकोले कारबाहीका लागि सिफारिस गरिएको हो ।’

उनका अनुसार राईमाथि यसअघि तीनपटक स्पष्टीकरण सोधिएको र तीनैपटकको जवाफ चित्त बुझ्दो नभएपछि कारबाही गर्न लागिएको हो । एमाले सुनसरीका कार्यबाहक अध्यक्ष पुर्शराम यादवले पटकपटक सम्झाउँदा पनि नसुध्रिएकाले राईमाथि कारबाही अघि बढाइएको बताए ।

‘नगर कमिटीले कारबाहीको सिफारिस गरेर पठाएको छ’, उनले भने, ‘पटकपटक सम्झाउँदा पनि पार्टी हितवीपरित काममा सक्रिय भइरहेकाले उहाँमाथि कारबाही गर्नुपर्ने अवस्था आयो ।’