कर्णाली राजमार्गमा अवरोध भए तत्काल खुलाउन आवश्यक उपकरण र सामग्री व्यवस्थापन

कर्णाली राजमार्गमा अवरोध भए तत्काल खुलाउन आवश्यक उपकरण र सामग्री व्यवस्थापन



कालीकोट । कर्णाली राजमार्गमा बाढी र पहिरोका कारण अवरुद्ध हुनसक्ने अवस्थालाई ख्याल गरी आवश्यक उपकरण र सामग्रीको व्यवस्थापन गरिएको छ । ठाउँठाउँमा डोजरसहित आवश्यक सामग्री तयारी अवस्थामा राखिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

राजमार्गको सुर्खेत–दैलेख–कालीकोट–जुम्ला–मुगु सडकका विभिन्न सात ठाउँमा सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाले डोजर राखेका हुन् । कर्णाली राजमार्गको सुर्खेतबाट मुगुसम्मको खण्ड बर्खामा बाढीपहिरोका कारणले अवरुद्ध हुने गर्छ ।

सडक डिभिजन कार्यालय सुर्खेतले दैलेखको राकम र तल्लो डुङ्गेश्वरमा डोजर राखेको कार्यालय प्रमुख खुमबहादुर भण्डारीले बताए । सडक डिभिजन कार्यालय जुम्लाले कालीकोटबाट मुगुसम्मको सडकलाई लक्षित गरेर पाँच ठाउँमा डोजर तैनाथ गरेको छ ।

कालीकोटको गगनेखोला–दैखोलाबाट खुलालुसम्मका लागि खुलालुमा, खुलालुबाट मान्मसम्मका लागि हुल्ममा, मान्मबाट टाकुल्लासम्मका लागि पिलीमा, टाकुल्लाबाट नाग्मसम्मका लागि गाल्जेमा र कालीकोटको नाग्म–जुम्लाबाट मुगुसम्मका लागि बुलबुलेमा डोजर तैनाथ गरिएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी एवम् इञ्जिनियर प्रदीपनारायण चौधरीले जानकारी दिए ।