काठमाडौं । प्रधानमन्त्री केपी ओलीले यसै साता मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । त्यसका लागि सत्ता साझेदार काँग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राई, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलगायतसँग प्रधानमन्त्री ओलीले मोटामोटी छलफल गरिसकेका छन् ।
ओली कांग्रेस–एमालेसहित सरकारमा सहभागी अन्य दलका समेत मन्त्री फेर्ने तयारीमा छन् । जसपाबाट नवलकिशोर साह महिला तथा बालबालिका मन्त्री र प्रदीप यादव खानेपानी मन्त्री छन् । साह र यादवलाई फिर्ता बोलाएर जसपाले डा. वीरेन्द्रप्रसाद महतो र रञ्जु झालाई मन्त्री बनाउन खोजेको बताइन्छ । त्यस्तै, लोसपाबाट शरत् सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री छन् । भण्डारीलाई फिर्ता बोलाएर लोसपाले सर्वेन्द्रनाथ शुक्लालाई पठाउने तयारी भएको बुझिएको छ ।
दुई दलबीच १७ असार ०८१ को मध्यरातमा भएको सहमतिअनुसार ओली ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । दुई दलबीच एक वर्षमा मन्त्री फेर्ने पूर्वसहमतिअनुसारै मन्त्रिपरिषदमा हेरफेर गर्न लागिएको कांग्रेसका एक पदाधिकारीले बताए ।
वर्तमान सत्ता गठबन्धनकी प्रमुख सूत्राधारसमेत रहेकी देउवा पत्नी एवं परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फर्किएलगत्तै मन्त्रिपरिषदमा हेरफेर हुनेछ । राणा हाल युरोप भ्रमणमा छिन् । उनी २६ असारमा नेपाल आइपुग्ने छिन् ।
प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबाहेक सबै मन्त्रीको राजीनामा मागिनेछ । त्यसपछि नयाँ मन्त्री नियुक्तको प्रकृया अगाडि बढ्नेछ ।
सम्भवतः राणालाई उपप्रधानमन्त्रीमा बढुवा गरी परराष्ट्र मन्त्रालयकै जिम्मेवारीमा निरन्तरता दिइने सम्भावना छ । गृहमन्त्रीमा तीन जनाको नाम चर्चामा छ । किशोरसिंह राठोर, ज्ञानेन्द्रबहादुर कार्की र डा. प्रकाशशरण महतमध्ये एकजनाले गृहमन्त्रीको जिम्मेवारी पाउने छन् । ज्ञानेन्द्र कार्की सहरी विकासमन्त्री बन्ने सम्भावना पनि त्यत्तिकै छ । वीरबहादुर बलायरलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइनेछ ।
कांग्रेसले सम्हालेको बाँकी मन्त्रालय खेलकुद, ऊर्जा, जलश्रोत तथा सिँचाई, कानुन र कृषि तथा तथा पशुपन्छी विकास मन्त्री महामन्त्री गगन थापा र शेखर कोइरालाले सिफारिस गरेका व्यक्तिहरु मन्त्री हुनेछन् । वन राज्यमन्त्री रुपा विक र ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजाको मन्त्रीमा बढ्वा हुने सम्भावना पनि त्यत्तिकै छ ।
एमालेमा अधिकांश युवालाई मन्त्रीको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री ओलीले गरेको बुझिएको छ । पार्टीभित्र गुटबन्दी मौलाइरहेका बेला प्रधानमन्त्री ओलीले आफ्नो पल्ला भारी बनाउनका लागि पनि मन्त्रिपरिषद् पुनर्गठन उपयोगी हुनसक्ने बताइएको छ । गत १० वैशाखमा मात्र मन्त्री भएका कारण पन्तले भने निरन्तरता पाउने भएका हुन् ।
प्रतिक्रिया