हुम्लाको चुवाखाेलामा निर्मित बेलिब्रिज प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

हुम्लाको चुवाखाेलामा निर्मित बेलिब्रिज प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

राष्ट्रिय सडक सञ्जालमा जोडियाे सिमकोट



हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ चुवाखोला कर्णाली नदीमा निर्मित बेलिब्रिजको उद्घाटन गरेका छन् । योसँगै हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।

अब देशका ७७ वटै जिल्लाका सदरमुकामहरू राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । पक्की पुल निर्माण गर्न समय लाग्ने भएपछि नेपाली सेनाले चुवाखोलामा बेलिब्रिज निर्माण गरेको हो ।

गएकाे वर्षकाे चैत अन्तिम हप्ता नेपाली सेनाले कर्णाली करिडोर अन्तर्गतको २ सय ८६ किलोमिटर ट्र्याक खोलेपछि सिमकोटसम्म गाडी चल्न थालेका थिए । तर चुवाखोलामा पुल नहुँदा हुम्ला राष्ट्रिय सडक सञ्जालमा प्रत्यक्ष रूपमा जोडिएको थिएन ।

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर २०५६ सालमा नै शिलान्यास भएको थियो । सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरी नाका हिल्सा जोड्ने लक्ष्यका साथ कर्णाली करिडोर शिलान्यास भएको थियो ।

प्रधानमन्त्री शर्मा ओेलीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि सँगै हुम्ला पुगेका छन् ।