काठमाडौँ । सत्तारूढ नेकपा (एमाले) का सांसद किरणकुमार साहले रौतहटमा भएका मानवीय अपराधको घटनामा दोषी ठहर भइसकेका पूर्वमन्त्री आफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशहरूलाई महाभियोगको दायरामा ल्याउनुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साहले जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको घटनामा उच्च अदालत जनकपुरले फैसला उल्ट्याएकोप्रति आपत्ति जनाउँदै सम्बद्ध न्यायाधीशहरूविरुद्ध तत्काल महाभियोग प्रक्रिया अगाडि बढाउन माग गरेका हुन्।
उनले जनप्रतिनिधिले चासो राख्नुपर्ने विषयमा राजनीतिक संरक्षणका आधारमा फैसला भएको जस्तो देखिएको भन्दै सञ्चारमाध्यम र जनमतले समेत आलोचना गरिरहेको उल्लेख गरे।
‘यदी सरकार साँच्चै स्वतन्त्र न्यायपाकिला चाहन्छ भने र कुनै राजनीतिक संरक्षण नभएको प्रमाणित गर्न चाहन्छ भने सो फैसला सुनाउने उच्च अदालतका न्यायाधीश खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउनुपर्छ । यदी यस्तो कदम चालिँदैन भने गठबन्धन सरकारले नै अफताव आलमलाई उपहारस्वरुप सफाई दिएको भन्ने सन्देश जान्छ । यस्तो अवस्थामा लोकतन्त्र र न्याय प्रणाली गम्भीर अपमान हो,’ उनले भने।


प्रतिक्रिया