एनआरएनए आईसीसी बैठक शुक्रबार

एनआरएनए आईसीसी बैठक शुक्रबार


ग्लोब नेपाल
648
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) बैठक आगामी शुक्रबारका लागि बोलाइएको छ। संघको आगामी अक्टोबरमा हुने १२औं महाधिवेशनको तयारी तीव्र पार्न बैठक नेपाली समयअनुसार शुक्रबार साँझ ५ बजे भर्चुअल माध्यममा बस्ने केन्द्रीय सदस्य चिरन शर्माले जानकारी दिए।

संघका महासचिव गौरीराज जोशीले मंगलबार एक परिपत्र जारी गर्दै बैठकमा प्रस्तुत हुने एजेन्डाहरूको जानकारी गराएका छन्। उनका अनुसार बैठकले अक्टोबरमा हुने १२औं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न निर्वाचन समिति गठन गर्नेछ। संघको विधानअनुसार करिब तीन महिना अघिनै निर्वाचन समिति गठन गर्नुपर्ने कानुनी व्यवस्था छ।

बैठकमा राष्ट्रिय समितिहरूमा भइरहेको सदस्यता वितरण, अनुगमन लगायतका विषयमा पनि छलफल हुने भएको छ। यस्तै, सदस्यता सम्बन्धी विवाद समाधान गर्न न्यायिक समिति गठन गर्ने तयारीसमेत बैठकमा गरिनेछ। संघका क्षेत्रीय संयोजकहरूले हालै गठन भएका नयाँ तदर्थ समितिहरूको प्रगति प्रतिवेदन पनि पेश गर्नेछन्। सचिवालयको अद्यावधिक जानकारी र संघको आर्थिक परिचालनका विषयमा समेत छलफल हुने संघले जनाएको छ।

गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन आगामी अक्टोबर ११ देखि १४ तारिखसम्म हुँदैछ। महाधिवेशनको तयारीका लागि ६० भन्दा बढी देशमा जुलाई महिनाभित्रै नयाँ अधिवेशन तथा निर्वाचनको तयारी भइरहेको छ। संघको नयाँ नेतृत्व चयनका लागि केन्द्रीय प्रतिनिधिहरू अगस्ट महिनाभित्र चयन हुनेछन्।