काठमाडौं । चालु आर्थिक वर्ष जेठ महिनासम्ममा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ । गत आव सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा थियो ।
मुलुकले गर्ने आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानी लगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो ।
आर्थिक वर्ष २०७८/७९ को असोजदेखि मुलुक भुक्तानी सन्तुलनमा देखिन थालेको हो ।
रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको छ ।
यसको अनुपातमा आयातमा सामान्य मात्रै सुधार देखिएको कारण पनि भुक्तानी सन्तुलन देखिएको हो ।
आयात बढे पनि चालु खाता तीन खर्ब सात अर्ब रूपैयाँ नाफामै रहेको छ । गत आर्थिक वर्षको यो अवधिमा भने नाफा दुई खर्ब रूपैयाँ थियो ।
वार्षिक आधारमा सात वर्ष पछि गत आर्थिक वर्षबाट मुलुकको चालु खाता नाफामा देखिएको थियो । यस्तो खाता आर्थिक वर्ष २०७३/७४ देखि नोक्सानमा रहँदै आएको थियो । चालु खातालाई मुलुकको खुद आम्दानीको रूपमा समेत हेरिन्छ ।
चालु आर्थिक वर्षको एघारौ महिना पनि यसले निरन्तरता पाइरहेको छ ।
चालु आव जेठसम्म खुद पूँजीगत ट्रान्स्फर ८ अर्ब ९६ करोड छ । गत आव सोही अवधिमा यस्तो ट्रान्स्फर ५ अर्ब ४६ करोड थियो ।
यसैगरी चालु आव जेठसम्म ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आव सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब २४ करोड थियो ।


प्रतिक्रिया