काठमाडौं । प्रख्यात अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थनमा ‘न्यायका लागि’ अभियानमा हस्ताक्षर गरेकी छन्।
मनिषा आज बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय पुगेर उक्त अभियानमा सहभागी भइ हस्ताक्षर गरेकी हुन्। हस्ताक्षरपछि सञ्चारकर्मीहरूको भिडबीच संक्षिप्त प्रतिक्रिया दिँदै उनले रवि लामिछानेमाथि राज्यले अन्यायपूर्ण व्यवहार गरिरहेको टिप्पणी गरिन्।
उनले भनिन्, ‘म कुनै पार्टीमा आवद्ध छैन, आम नागरिकको नाताले राज्यबाट भइरहेको अन्यायको विरोधमा आवाज उठाउन आएको हो । त्यतिमात्र भन्नु छ ।’
रविजीलाई अन्याय भएको तपाईँको ठम्याइ हो ? भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘डेफिनेट्ली ।’
रास्वपाले लामिछानेविरुद्ध भइरहेको मुद्दा र प्रक्रियालाई अवैधानिक तथा राजनीति प्रेरित भएको भन्दै न्यायका लागि देशव्यापी हस्ताक्षर अभियान चलाइरहेको छ।


प्रतिक्रिया