काठमाडौँ । मंगलबार बिहान चीनतर्फबाट आएको बाढीले रसुवा जिल्लामा पुर्याएको क्षतिको प्रारम्भिक विवरण संकलन गर्न एक समिति गठन गरिएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति तथा विपद् व्यवस्थापन समितिको संयुक्त बैठकले १३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।
समितिको संयोजकको रूपमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाका प्रमुख इन्जिनियर खड्गलाल श्रेष्ठ रहनेछन्। समिति सदस्य सचिवको जिम्मेवारी सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीलाई दिइएको छ।
समितिलाई बाढी प्रभावित क्षेत्रको प्रारम्भिक भौतिक क्षतिको विवरण संकलन गरी चाँडो प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। समितिमा विभिन्न सरकारी निकाय, स्थानीय तह र आयोजना प्रतिनिधिहरूको सहभागिता रहेको छ।
समितिका अन्य सदस्यहरूमा रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराई, यान्त्रिक कार्यालय प्रमुख इन्जिनियर विजय हाछेथु, सघन सहरी तथा भवन निर्माण आयोजना प्रमुख इ. शसिन्द्र घिमिरे, उत्तरगया गाउँपालिकाका प्रशासकीय प्रमुख होमनाथ दाहाल, गोसाइँकुण्ड–२ का वडाध्यक्ष कामी छिरिङ तामाङ रहेका छन्।
त्यस्तै, नेपाल विद्युत प्राधिकरण रसुवा वितरण केन्द्रका गुञ्जमान तामाङ, नेपाल टेलिकम रसुवाका प्रमुख नारायणराज श्रेष्ठ, रसुवागढी जलविद्युत कम्पनीका सत्यराम ज्याख्वा, चिलिमे जलविद्युत कम्पनी प्रमुख मनिष विष्ट, नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर शोभाकान्त राउत र नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गंगबहादुर घिमिरे पनि समितिमा सदस्यका रूपमा रहनेछन्।


प्रतिक्रिया