राष्ट्रबैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने, अर्थतन्त्र उकास्ने गरी नीति आउने दाबी

राष्ट्रबैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने, अर्थतन्त्र उकास्ने गरी नीति आउने दाबी


ग्लोब नेपाल
270
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकमा मौद्रिक नीतिको प्रस्तावमाथि प्रारम्भिक छलफल भएको थियो । आज बिहान फेरि बस्ने बैठकले नीति पारित गरी सार्वजनिक गर्ने तयारी भएको राष्ट्रबैंक अधिकारीहरुले बताएका छन् ।

नेपाल राष्ट्रबैंकको स्थापना २०१३ सालमा भए पनि नियमित रुपमा मौद्रिक नीति सार्वजनिक गर्न थालिएको २०२३ सालमा हो । राष्ट्र बैंकको इतिहासमा यो ५९औँ मौद्रिक नीति हो । आर्थिक वर्ष २०५९/६० देखि गभर्नरद्वारा नीति सार्वजनिक गर्ने अभ्यास जारी छ ।

गभर्नर विश्व पौडेलको कार्यकालको यो पहिलो मौद्रिक नीति हो । गभर्नर पौडेलले विगतमा राष्ट्र बैंकले सरकारको नीति र प्राथमिकतासँग समन्वय गर्दै काम गर्ने बताएका थिए । जसको प्रभाव नीति निर्माणमा देखिने अपेक्षा गरिएको छ ।

बिहीबारको सञ्चालक समितिको बैठकमा चालु आर्थिक वर्षको मौद्रिक नीतिको कार्यान्वयन, देशको समग्र आर्थिक अवस्था, र अन्तर्राष्ट्रिय परिवेशबारे छलफल गरिएको थियो । आज सार्वजनिक हुन लागिएको नीति त्यही छलफलको निष्कर्षका आधारमा तयार पारिएको अनुमान गरिएको छ ।
राष्ट्र बैंकको यो नीति मुलुकभित्रको मुद्रा व्यवस्थापन, महँगी नियन्त्रण, बाह्य क्षेत्रमा हुने आम्दानी–खर्चको सन्तुलन कायम गर्नु र वित्तीय क्षेत्रको स्थायित्व सुनिश्चित गर्नुमा केन्द्रित हुने बताइएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धि र ५.५ प्रतिशत मुद्रास्फीति सीमित गर्ने लक्ष्य राखेको छ । राष्ट्र बैंकको मौद्रिक नीतिले यिनै लक्ष्यलाई सघाउने उद्देश्य राख्नेछ । त्यसका लागि करिब ११ प्रतिशतको कर्जा विस्तारको लक्ष्य लिने तयारी भएको जनाइएको छ ।

यसअघि राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मापदण्डको कार्यान्वयन अवधि एक वर्ष पछाडि सार्ने निर्णय गरेको थियो । साथै, साना कर्जामा समस्यामा परेकाहरूलाई दुई वर्षका लागि भाका सार्ने सुविधा पनि दिएको छ । यसले बजारमा तरलता बढाउन र निजी क्षेत्रलाई सक्रिय तुल्याउन सहयोग गर्ने विश्वास गरिएको छ ।

सरकारले बजेटमार्फत कार्यशील पुँजी प्रवाह बढाउने नीति लिएको सन्दर्भमा मौद्रिक नीति पनि लचिलो हुने सम्भावना रहेको देखिन्छ । पछिल्ला केही वर्षयता अर्थतन्त्रमा देखिएको सुस्तता हटाउन र आर्थिक गतिविधिमा गतिशीलता ल्याउन राष्ट्र बैंकको नीति निर्णायक बन्ने अपेक्षा गरिएको छ ।