काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आर्थिक गतिविधि बढाउन लचिलो मौद्रिक नीति ल्याइएको बताएका छन् ।
शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले अधिक तरलता कायम भई कर्जाको गुणस्तर घट्दा चुनौती थपिएको बताए ।
बढ्याे घर जग्गामा ऋणको सीमा
नेपाल राष्ट्र बैंकले घरजग्गामा लचिलो नीति लिएको छ ।
गभर्नर पौडेलले व्यक्तिलाई घर किन्न दिइने कर्जाको अधिकतम सीमा ३ करोड पुर्याइएको घोषणा गरे । यसअघि यस्तो कर्जा सीमा २ करोडको थियो ।
त्यस्तै घरजग्गा खरिदमा दिइने कर्जाको सीमा पनि बढाइएको छ । यसअघि घरजग्गाको मूल्यांकनमा ५० प्रतिशत मात्रै बैंकले ऋण दिने गरेकोमा त्यसलाई बढाएर ७० प्रतिशत कायम गरिएको छ । अब मूल्यांकनको ७० प्रतिशतसम्म बैंकबाट ऋण लिएर घरजग्गा खरिद गर्न सकिनेछ ।
६ प्रतिशतमा झर्यो ब्याजदर करिडोर
नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमा घटाएर ६ प्रतिशतमा झारेको छ ।
गभर्नर डा. पौडेलले ब्याजदर करिडोर ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको बताएका हुन् । ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरिएको छ ।
बढ्यो सेयर धितो कर्जाको सीमा
राष्ट्र बैंकले व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले दिने सेयर धितो कर्जामा सीमा बढाइदिएको छ । गभर्नर पौडेलले व्यक्तिलाई दिइँदै आएको अधिकतम कर्जाको सीमा बढाइएको घोषणा गरे ।
यसअघि व्यक्तिलाई दिइँदै आएको सेयर धितो कर्जा सीमा १५ करोड रहेकोमा त्यसलाई बढाएर २५ करोड पुर्याइएको छ ।
धितो राखिने सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ, त्यहीं रकमको ७० प्रतिशत बैंकहरूले सेयर धितोमा कर्जा दिँदै आएका छन् । यस्तो कर्जा जेठ मसान्तसम्म १ खर्ब २८ अर्ब प्रवाह भएको छ ।


प्रतिक्रिया