लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै

लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै


ग्लोब नेपाल
378
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्ष पदबाट नवराज सुवेदीलाई हटाएपछि सो पार्टीमा असन्तुष्टि ह्वातै बढेको छ । असार २५ गतेको उक्त निर्णयविरुद्ध सुवेदीले निर्वाचन आयोगमा उजुरी दिने तयारी गरेका छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्तरिक विवाद सतहमा आएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी ढंगले चलेको भन्दै इतर समूहले छुट्टै गुटगत भेला सुरु गरेका छन । पार्टीका महामन्त्री धवलशम्शेर राणाको नेतृत्वमा छुट्टै भेला बसेको हो । भेला राणाकै नक्सालस्थित सचिवालयमा बसेको हो ।

उनीहरुले अध्यक्ष लिङ्देनले विधान विपरीतका कार्य गरेको, मनोमानी रुपमा संगठन चलाएको आरोप लगाएका छन । राणासहितका नेताहरुले लिङ्देनका पछिल्ला काम–कारबाही प्रक्रिया संगत नभएको भन्दै निर्वाचन आयोगलाई जानकारी गराउने तयारी गरेको स्रोतको दाबी छ । असार २५ गते लिङ्देनले अनुशासन समितिको अध्यक्ष पदबाट नवराज सुवेदी र सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए ।

राजावादी आन्दोलनका संयोजक बनेका सुवेदीलाई हटाएर उनको स्थानमा रोशन कार्कीलाई जिम्मेवारी दिएका थिए । यो निर्णयलाई राणा समूहले अवैधानिक भनेको छ । उक्त निर्णयविरुद्ध सुवेदीले निर्वाचन आयोगमा उजुरी दिने भएका छन् ।राप्रपाको विधानअनुसार केन्द्रीय समितिमा प्रस्ताव ल्याएर हटाउनु पर्ने व्यवस्था छ । त्यसैले यो अवैधानिक भएको इतर समूहको आरोप रहेको छ ।

छुट्टै भेलामा पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री तथा कार्यसम्पादन समिति सदस्य, हरिबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे, उपाध्यक्षस् मुकुन्दश्याम गिरी, महामन्त्री डा. धवलशम्सेर राणा, महामन्त्री कुन्तीकुमारी शाही, प्रवक्ता, सगुन सुन्दर लावती, सहायक प्रवक्ता प्रविनकुमार थोकर तामाङ, सहायक महामन्त्री प्रेम बलायर, सहायक महामन्त्री ऋषिराज देवकोटा, सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहलगायत ५० जनाको सहभागिता रहेको छ ।