विद्या भण्डारीसँगकाे भेटबारे नारायणकाजीले भने : नेतृत्व तरंगित हुन पर्दैन

विद्या भण्डारीसँगकाे भेटबारे नारायणकाजीले भने : नेतृत्व तरंगित हुन पर्दैन



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको विषयले त्यति ठूलो महत्त्व पाउनु नपर्ने बताएका छन् ।

अमेरिका भ्रमणमा रहेका श्रेष्ठले शनिबार टेक्सासकाे एक कार्यक्रममा भण्डारीसँगकाे भेटेलाई लिएर पार्टी नेतृत्व तरंगित हुन नपर्ने बताएका हुन् ।

उनले पार्टीको निर्णयले मात्र कसैलाई भेट्नुपर्छ भन्ने नरहेको उल्लेख गरे । “पार्टी अध्यक्षले पनि कस–कसलाई भेट्नुहुन्छ, पार्टीमा निर्णय गराएर कहिल्यै भेट्नुभएको छैन,” उनले भने, “उहाँलाई मैले फलानोलाई भेट्नुभएछ भनेर सोध्न मिल्छ ? उपाध्यक्ष, महासचिवले पनि पार्टी निर्णयबिनै अरू दलका नेता–कार्यकर्तासँग भेटिरहेका हुन्छन् ।”

पूर्वराष्ट्रपति भण्डारीसँगको भेटमा वामपन्थी एकताका विषयमा छलफल भए/नभएको उनले केही खुलाएनन् । “अहिलेलाई वामपन्थी एकताको कुनै सम्भावना मैले देखेको छैन,” उनले भने ।

उनले भण्डारीसितको भेटमा आफूले राष्ट्रपति, उपराष्ट्रपतिहरू सक्रिय राजनीतिमा आउन नहुने धारणा राखेको बताए । “विशेषतः सम्माननीयहरू सक्रिय राजनीतिमा फर्किनु हुँदैन,” उनले भने, “तर, आउनैपर्ने अपवादको अवस्था छ भनेचाहिँ पुष्टि गरेर मात्र आउनुपर्छ ।”

उनले अगाडि भने, “देशलाई मेरो आवश्यकता पर्‍यो, देशलाई यो समस्याबाट निकास दिन्छु भन्ने पुष्टि गर्न सक्नुहुन्छ भने मात्र औचित्य पुष्टि हुन्छ ।”

माओवादीको बिहीबारको पदाधिकारी बैठकमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अमेरिका भ्रमणमा रहेकाेले अनुपस्थित थिए । तर बैठकमा भने गत साता श्रेष्ठ र पूर्व राष्ट्रपति भण्डारीबीच भएको भेटवार्ता र त्यसबारे चलेको चर्चाले बैठकमा स्थान पाएको थियो ।

पूर्वराष्ट्रपति भण्डारी र माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठबीच भएको पछिल्लो भेटवार्ताले ‘भ्रम सिर्जना गरेको’ भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा लामो ब्रिफिङ गरेको माओवादी नेताहरूले जानकारी दिएका छन् ।

त्यसैगरी पार्टी प्रवक्ता अग्नी सापकोटाले गत सोमबार विज्ञप्ति निकालेर वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचकाे भेटबारे पार्टीलाइ थाहा नभएकाे र एमालेसँग एकता गर्ने कुनै सोच पनि नभएको बताएका थिए ।