काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशका ठूला दुई दलहरूसँग अब गम्भीर संरचनात्मक समस्याहरू समाधान हुने आशा सकिएको बताएका छन्।
आइतबार बिहान फेसबुकमा लेख्दै उनले कांग्रेस र एमालेको सरकारबाट जनताले चाहे जस्तो काम नभएको बताएका हुन्।
उनले लेखे ‘संसदका दुइ ठूला दल मिलेर बनेको सरकारको गत एक बर्षको सबभन्दा ठूलो उपलब्धी भनेको अब पुराना दलहरूले जतिपटक जोसुकैको नेतृत्वमा सरकार चलाए पनि उनीहरूबाट देश र जनताका गम्भीर संरचनात्क समस्याहरू (संस्थागत भ्रष्टाचार, बेरोजगारी, अल्पविकास, परनिर्भरता, पर्यावरण विनाश आदि) हल हुनैसक्दैनन् भन्ने कुरा आम जनताले बुझ्ने गरी ब्यबहारमै प्रमाणित गरिदिनु हो।
तेश्रो ठूलो दलका एकल सुप्रिमोले पटक पटक च्याँखे थापेर सरकारको नेतृत्व गरे पनि यी गम्भीर संरचनात्मक समस्याहरूको समाधानमा कुनै माखो मार्न नसकेको पहिल्यै देखिसकिएकै हो।
यो स्थितिमा अब नेपाली इतिहासको कोर्टको बल नयाँ र वैकल्पिक शक्तिहरूको हातमा ढिलोछिटो आउने निश्चितै छ। उनीहरूले त्यसको गम्भीर तयारी कसरी गर्छन् वा गर्नुपर्छ? आगामी दिनको राजनीतिक विमर्श अव त्यता सोझिनुपर्छ। सबैले आआफ्नो छातीमा हात राखेर ममः भन्ने कि? अब आँखा खोलौं


प्रतिक्रिया