विपद् जोखिम न्यूनीकरणका पूर्व सूचना प्रणाली चुस्त : गृहमन्त्री लेखक

विपद् जोखिम न्यूनीकरणका पूर्व सूचना प्रणाली चुस्त : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली चुस्त पारिएको बताएका छन् ।

आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि समेत आवश्यक गृहकार्य भइरहेको बताए । उनले गृह मन्त्रालय मातहत रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला सबैसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको समेत बताए ।

उनले भने, ‘अहिले मनसुनको समय छ । मनसुनको समयमा विभिन्न जोखिमहरू उत्पन्न हुने गर्दछन् । त्यसको जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीलाई दुरुस्त गर्ने, विपद् आइसकेपछि प्रतिकार्यका कामहरू गर्नको लागि तयारी गरिरहेका छौँ । हामीसँग कानुनले नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन भएको छ । गृह मन्त्रालय त्यसको सम्पर्क मन्त्रालय हो ।’

यस वर्षको मनसुनमा देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ ।