काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा र नियुक्तिमा ‘घुस डिल’ गरेको आरोप लगाउँदै तत्काल छानबिनको माग गरेको छ ।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले मन्त्री गुप्ताको घुस डिल प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनुपर्ने माग गरेकी हुन् ।
‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाख डिल गरेको भन्ने समाचारहरू बाहिर आइरहेका छन् । यो विषयमा के भएको हो ?,’ शर्माले भनिन्, ‘सम्मानीय प्रधानमन्त्रीज्यूलाई संसद्मा जानकारी गराउन अनुरोध गर्न चाहान्छु सभामुख मार्फत् ।’
यसको छानबिन गरेर दोषी जोसुकै होस् उसमाथि कडाभन्दा कडा कारबाही गरियोस् भनेर माग पनि उनले गरिन् । ‘अन्यथा सरकारको एक वर्षको उपलब्धि यही हुनेछ भन्ने कुरा पनि राख्न चाहान्छु,’ शर्माले भनिन् ।


प्रतिक्रिया