काठमाडौं । काठमाडौं महानगरपालिकाकाे अर्को नगर सभा बैठक आगामी असार ३२ गतेका लागि आह्वान भएको छ ।
चालु आर्थिक वर्षको ०८१ ०८२ को प्रगाति समीक्षा र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक–२०८२ र विनियोजन विधेयक २०८२ उपर छलफल र पारित गर्नका लागि सो बैठक आह्वान गरिएको हो ।
आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा मेयर बालेन्द्र शाह (बालेन) ले असार ३२ गते दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान भएको जानकारी दिए ।
महानगरपालिकाले आज नीति तथा कार्यक्रम र बजेट एकै दिन ल्याएको हो । अब महानगरले ३२ गते भित्रै बजेट पास गर्नुपर्ने कानुनी बाध्यता रहेको छ ।
महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।
संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक विवादले ढिला भएको हाे ।
बजेट ल्याउन ढिला भएको भन्दै त्यसमा उपप्रमुख सुनिता डंगोलले माफी समेत मागेकी थिइन् ।


प्रतिक्रिया