केपी ओलीबिनाको एमाले देख्न चाहनेको कामना अधुरै रहनेछ : प्रधानमन्त्री ओली

केपी ओलीबिनाको एमाले देख्न चाहनेको कामना अधुरै रहनेछ : प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकता मजबुत बनाएर काम गर्नुपर्ने बताए। एमालेको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै उनले स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन गर्ने षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताले पार्टीलाई बचाएर राष्ट्रिय शक्ति बनाएको बताए।

केपी ओलीबिनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको टिप्पणी गर्दै पार्टी भित्र र बाहिरका षड्यन्त्रलाई चिर्दै सही नीति र नेतृत्वको पक्षमा लाग्न सबैलाई आग्रह गरे।

उनले भने, ‘एमालेबिनाको देश र केपी ओलीबिनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पूरा हुँदैन । एमाले साना स्वार्थ बोक्ने पार्टी होइन । यसको काँधमा देश बनाउने महान् उद्देश्य छ । यो राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी हो । एमालेविरुद्ध जाल बुन्नेहरू सफल हुँदैनन् । माकुरोको जालोमा कहिल्यै भैँसी पर्दैन । हाम्रा विरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन । केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन । हामी सहकारी ठगेर मुद्दा झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन ।’

नेपाललाई एमालेले जस्तै अरू कुनै पार्टीले समृद्धि र विकासको बाटोमा अगाडि बढाउन सक्दैन भन्दै, आफ्नो कार्यकालमा फलामखानी सञ्चालन, पेट्रोलियम पदार्थको उत्खनन, सुरुङ मार्ग निर्माण लगायतका थुप्रै विकास परियोजनाहरू सुरु गरेका  र ती प्रयासबाट राम्रो परिणाम आउन थालेको बताए।