उपनिर्वाचन : राप्रपा रुपन्देहीबाट बोहरा परिवारका तीनसहित ६ जनाको नाम सिफारिस

उपनिर्वाचन : राप्रपा रुपन्देहीबाट बोहरा परिवारका तीनसहित ६ जनाको नाम सिफारिस



रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ६ जनाको नाम सिफारिस गरिएको छ ।

राप्रपा जिल्ला कार्यसम्पादन समितिको बैठकले ६ जनाको नाम सिफारिस गरेको हो । उक्त क्षेत्रबाट निर्वाचित दीपक बोहराको निधनपछि हुन लागेको उपनिर्वाचनमा उनका दुई छोराहरु (गौरव बोहरा र प्रज्वल बोहरा), नातिनी स्वाती थापा को नाम सिफारिस गरिएको छ ।

यसैगरी पार्टीको रुपन्देही जिल्ला अध्यक्ष तथा पूर्व नगरप्रमुख सागर प्रताप राणा, केन्द्रीय सदस्य वसन्त विक्रम शाही र जिल्ला प्रवक्ता एवं अधिवक्ता दिलीप कुमार मल्लिकाको नाम पनि सिफारिस गरिएको छ ।

०७९को निर्वाचनमा थापा चुनावी कमाण्डर रहेकी थिइन् । गौैरव बुद्ध एयरको सिनियर पाइलट हुन् भने प्रज्ववल इन्जिनियर हुन् । निर्वाचनका दुवै छोराहरुले दीपकलाई साथ दिएका थिए ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले असार मसान्तसम्म सम्भावित उम्मेदवारको नाम पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिए अनुसार आज यस्तो निर्णय गरेको हाे ।

वरिष्ठ नेता रहेका उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरेको छ ।

समितिमा निरञ्जन थापा, प्रदीप उदय, ताहिर अली सदस्य रहेका छन् ।

०७९ मा नेकपा एमालेको साथ पाएर निर्वाचन जितेको राप्रपा समानुपातिक मतमा भने चौथो स्थानमा रहेको थियो ।