काठमाडौं । राप्रपाका संस्थापक नेता तथा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई राजेन्द्र लिङदेनले राप्रपामा एकलौटी कारवाही गरे पछाडि राजावादी आन्दोलनलाई कमजोर तुल्याउने मकसद रहेको जानिफकारहरुको भनाइ छ ।
राप्रपाभित्र सुवेदीलाई कारवाही गरिहाल्नु पर्ने, विवादको घेरामा तान्नु पर्ने त्यस्तो टड्कारो अवस्था र आवश्यकता थिएन । उनी कसैलाई बिझाउने भूमिकामा नै थिएनन् । ‘त्यसैले नवराज सुवेदीमाथि स्पष्टीकरण नै नसोधी गरिएको स्वेच्छाचारी कारवाहीको अन्तर्य राप्रपाभित्रको राजनीतिमा मात्र सीमित छैन । लिङदेनको यो एकलौटी कदम राजावादी आन्दोलनको सफलता र असफलतासँग गाँसिएको छ । जनआन्दोलन समितिका संयोजक स्वयमलाई विवादमा तानेर आन्दोलन कमजोर तुल्याउने यसमा गन्ध पाइन्छ,’ राजनीतिशास्त्री मुकुन्द गौतम बताउँछन् ।
हुन पनि आन्दोलनको नेतृत्व आफूले नपाएकोमा लिङदेन क्रुद्ध थिए, राप्रपाले संयुक्त जनआन्दोलन समितिसँग सहकार्य गर्ने संस्थागत निर्णय गर्दा पनि लिङदेन आन्दोलनमा सहभागी भएनन् । एक किसिमले उनी लतारेर राजावादी आन्दोलनमा सहभागी हुन पुगेको जनमानसमा छाप छ । कमल थापाले आन्दोलनको नेतृत्व लिन भनी रत्नपार्कको कार्यक्रममा राष्ट्रिय झण्डा थमाउँदा उनले सहज नमानेको अवस्था घाम जतिकै छर्लङ्ग छ ।
लिङदेनको प्रधानमन्त्री केपी ओलीसँग भित्री साँठगाँठ रहेको कुरा राजावादीहरु नै चर्चा गर्छन्, शंका उपशंका गर्छन् । पृथ्वीपथका अभियन्ता भरत बस्नेतले एक टेलिभिजन कार्यक्रममा राप्रपाका सदस्यहरु नै आफ्ना अध्यक्षको भूमिका र आन्दोलनप्रति उनको निष्ठा प्रति विश्वस्त नभएको बताएका थिए ।
सुवेदीले भाग खाइदिएको भनेर लिङदेनमा ठूलो कुण्ठा भएको बुझ्न गाह्रो छैन, राजसंस्था पक्षधर युवा रुपेश बज्राचार्य बताउँछन् । लिङदेन निकट प्रवक्ताद्वय ज्ञानेन्द्र शाही र मोहन श्रेष्ठले सार्वजनिक रुपमै सुवेदीको पटक पटक खुलेर आलोचना गर्नुमा सोही असन्तुष्टि मूल कारण हो ।
राजावादी आन्दोलनमा प्रभावकारी भूमिका निर्वाह गर्ने महामन्त्री डा. धवलशम्शेर राणा र लोकप्रिय युवा नेता सगुन सुन्दर लावतीलाई बिना स्पष्टिकरण कारवाही गर्नुमा पनि आन्दोलन कमजोर बनाउने लिङदेनको रणनीति देख्न सकिन्छ ।
लिङदेनले वचन काटे
राप्रपाका संस्थापक नेता सुवेदीलाई पार्टीमा ‘झन् सक्रिय’ रहन दिएको वचन काट्दै लिङदेनले केन्द्रीय समिति बाइपास गरेर ‘स्वेच्छाचारी’ रुपमा कारवाही गरेको आरोप लागेको छ ।
राजसंस्था पुनर्स्थापनाको आन्दोलन जारी रहेको बखत आन्दोलनको प्रभावकारीता बढाउन, सुवेदी र लिङदेनबीच समझदारी कायम गर्न राप्रपाका शीर्ष नेताहरुको वैठक बसेको थियो ।
डा. प्रकाशचन्द्र लोहनीको घरमा बसेको वैठकमा लिङदेन स्वयमले उपस्थित नेताहरुको सामुन्ने, सुवेदीलाई सम्बोधन गर्दै, ‘दाइ अब झन् सक्रिय रहनु पर्छ’ भनेका थिए । स्मरण रहोस्, सुवेदीले आन्दोलनको लक्ष्य प्राप्त गर्न आवश्यक परे राप्रपाबाट अलग रहन सक्ने अभिव्यक्ति दिएको सन्दर्भमा लिङदेनले सवेदीलाई ‘राप्रपाबाट अलग हुने कुरै नगरौं, त्यो च्याप्टर क्लोज भयो’ भनेका थिए ।
लिङदेन निकट राप्रपाका एक केन्द्रीय सदस्यले बताए अनुसार, लिङदेन र सुवेदीका अलावा हरिबहादुर बस्नेत, डा लोहनी र पशुपति शम्शेर राणा उक्त वार्तालापका साक्षी छन् ।
शीर्ष नेताहरुको उक्त वैठकपछि सुवेदीले अनुशासन समितिको दुई वटा वैठकको अध्यक्षता गरेको स्रोतको दावी छ ।


प्रतिक्रिया