काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् ।
मन्त्री लेखकले स्पेन भ्रमणबारे छानबिन गर्न आज गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको प्रतिनिधिमण्डलबाहेक स्पेन को को गए ? कुन विधि प्रक्रिया र कुन संस्थामार्फत स्पेन गए भन्ने विषय छानबिन गर्न निर्देशन दिएको गृहमन्त्रीले बताए । स्पेन जान भिजिट भिषाको प्रबन्ध कसले गर्याे ? लगायतका विषयमा अनुसन्धान हुने उनको भनाइ छ ।
यस विषयको छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ । यस विषयमा दोषी देखिएकालाई कारबाही गरिने गृहमन्त्री लेखकले बताए ।
प्रधानमन्त्री ओली यही असार १४ गते स्पेन भ्रमणमा गएका थिए ।


प्रतिक्रिया