रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभाको बैठक बहिष्कार

रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभाको बैठक बहिष्कार

गृह, संघीय मामिला र भूमिमन्त्रीलाई कारबाही गर्न माग



काठमाडौं । सोमबारको प्रतिनिधिसभाको बैठक पनि विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेका छन् ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नेबित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेका थिए ।

त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद अशोककुमार चौधरीलाई बोल्न समय दिएका थिए । त्यसपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिएका थिए ।

भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिष्कार गरेका छन् ।

रास्वपा सांसद चौधरीले गृहमन्त्री रमेश लेखक, भूमिसुधारमन्त्री बलराम अधिकारी र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई पदको दुरुपयोग गरेका प्रमाणहरू बाहिरिँदा पनि किन कारबाही नगरेको भन्दै प्रश्न उठाए ।

सांसद चौधरीले गम्भीर आरोपबिच कर्तव्यच्यूत भएर कुर्सीमा बसिरहनु कत्तिको उपयुक्त हुन्छ ? भन्ने प्रश्न पनि गरे । गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा र मन्त्री अधिकारी र गुप्ता घूस डिल प्रकरणमा मुछिएकाले राजीनामा दिनुपर्ने चौधरीले बताए ।

लिङ्देनले भिजिट भिसा प्रकरणमा आफूहरूले सदनमा विरोध गरिरहेको र आवश्यक परेमा सडकबाट पनि आन्दोलन गर्ने बताए ।

उनले ओली नेतृत्वको सरकारका मन्त्रीहरू एकपछि अर्को काण्डमा मुछिएकाले बर्खास्त गर्न पर्दैन भनेर प्रश्न गरे ।