भविष्यको खाका कोर्न सक्ने हिम्मत माओवादीसँग मात्र छ : प्रचण्ड

भविष्यको खाका कोर्न सक्ने हिम्मत माओवादीसँग मात्र छ : प्रचण्ड



माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा भएका ऐतिहासिक परिवर्तनहरूको श्रेय माओवादी आन्दोलनलाई जाने दाबी गरेका छन्।

सोमबारको संसद बैठकमा विशेष सम्बोधन गर्दै उनले गणतन्त्र स्थापनादेखि संविधान निर्माण र ऊर्जा क्षेत्रमा भएको प्रगति माओवादी नेतृत्वकै योगदान भएको बताएका हुन्।

उनको भनाइमा, देशको भविष्यको स्पष्ट खाका कोर्न सक्ने हिम्मत र दूरदृष्टि अहिले पनि माओवादी पार्टीसँग मात्र रहेको छ।

प्रचण्डले भने, ‘हामी इतिहास बनाएर आएका हौं र भविष्यको खाका कोर्ने हिम्मत र साहस पनि हामीसँग मात्रै छ । जनताको सपना पूरा गर्ने जिम्मेवारी पनि हामीले लिएका छौं । संविधानले नेपाली जनताको अधिकार अझै संस्थागत गर्नुपर्दछ । उपेक्षित, उत्पीडित जाति, वर्ग, भूगोल र समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न संशोधन आवश्यक छ ।’

शासकीय स्वरूप, निर्वाचन प्रणाली, प्रदेशको नाम, सीमांकन, वित्तीय संघीयता, समावेशिता र सामाजिक न्यायका विषयमा अग्रगामी संशोधन गर्न दुईतिहाइ बहुमत जुटाउनुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘यदि सरकारसँग हिम्मत छ भने प्रमुख प्रतिपक्षका नाताले त्यो बहुमत जुटाउने जिम्मेवारी म लिन्छु ।’