काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँ पुग्यो त्यहाँ भ्रष्टाचार भएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई “भ्रष्टाचारबारे चित्रगुप्तलाई बयान दिन तयार छु भन्ने अभिव्यक्ति स्मरण होला ?” भन्दै कटाक्ष गरे । “तपाईंका मन्त्रीहरू खुल्लमखुल्ला लाखौंको डिल गरिरहेका छन्, प्रधानमन्त्रीज्यू, चित्रगुप्तलाई बयान कहाँ गएर दिने हो ?”
“अहिले त जहाँ सरकार त्यहाँ भ्रष्टाचार । अब चित्रगुप्तलाई प्रधानमन्त्रीजीले के बयान दिने होला ?,” उनले भने, “देशभित्र मात्र नभएर विदेशमा समेत जहाँ–जहाँ प्रधानमन्त्री पुग्नुहुन्छ । त्यहाँ केही न केही बेथितिका खबर आउँछन् । अहिले स्पेनबाट पनि त्यस्तै आएको छ ।”
उनले गत वर्ष अमेरिका जाँदा केके भएको थियो सम्झिएकै होला भन्दै कटाक्ष गरे ।
“अहिले स्पेनकोबारे कति हुनुहुन्छ हुनुहुन्न । मेरो आरोप होइन । तर, तपाईंले टेकेको ठाउँमा विवाद आउने गरेकोबारे पक्कै पनि ध्यान दिनुभएको होला,” उनले भने ।
उनले थपे, “मेरो नेतृत्वको सरकारले यसै आर्थिक वर्षमा पाँच लाख भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र दिने गृहकार्य अघि बढाएको थियो, तर अहिलेको दुई तिहाईको दम्भ बोकेको सरकारले भूमि आयोगका पदाधिकारी हटाउनु बाहेक केही गर्न सकेन ।”
उनले सरकारलाई भ्रष्टाचार, भागबन्डा, राजनीतिकरण, र विचौलियाको संरचना सृजना गरेर राज्यको आधिकारिक संयन्त्रलाई छायामा पार्ने प्रयास गरेको आरोप पनि लगाए ।


प्रतिक्रिया