लोडसेडिङ अन्त्य गर्न कांग्रेसको भूमिका महत्त्वपूर्ण : देउवा

लोडसेडिङ अन्त्य गर्न कांग्रेसको भूमिका महत्त्वपूर्ण : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा लोडसेडिङ अन्त्य गर्न कांग्रेसको ठूलो भूमिका रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित इप्पानको २३औँ वार्षिक साधारणसभामा देउवाले तत्कालीन जलस्रोतमन्त्री स्वर्गीय शैलजा आचार्यको पहलमा निजी क्षेत्र अर्बौं लगानी गर्न तयार भएको स्मरण गरे । “शैलजा आचार्यकै कारण निजी लगानीकर्ताले वातावरण पाए, लगानीको वातावरण बन्यो,” देउवाले भने ।

सभापति देउवाले निजी क्षेत्रले बिजुली उत्पादन गरेकाले देश लोडसेडिङमुक्त भएको पनि बताए । उनले आफू प्रधानमन्त्री हुँदा पहिलोपटक ३९ मेगावाट विद्युत् भारत निर्यात भएको पनि उल्लेख गरे । “हाम्रो पालामा नै विद्युत् निर्यात सुरु भएको हो । अब निजी क्षेत्रलाई पनि व्यापारमा सहभागी गराउन जरुरी छ,” उनले भने ।

उनले जलविद्युत् क्षेत्रमा प्रमुख समस्याका रूपमा रहेको वनको विषय, सेयर निष्कासन प्रक्रियालगायत अवरोध समाधान गर्नुपर्ने बताए । “वनको समस्या समाधान गर्न सजिलो छैन, अन्तर्राष्ट्रिय कानुनको पर्खाल छ,” देउवाले भने ।

“हामीलाई प्रकृतिले दिएको उपहार, पानीलाई जति सक्दो प्रयोग गरेर बिजुली उत्पादन गर्न सकियो भने भारतमा बिक्री गरेर देश समृद्ध बनाउन सकिन्छ,” देउवाले भने ।

देउवाले लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए ।

देउवाले लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नसक्ने बताए । ‘अहिले उत्पादित विद्युत खपत गर्ने र व्यापार गर्ने दायित्व सरकारको हो । यसका लागि निजी क्षेत्रलाई सहभागी गराउनु जरुरी छ’ उनले भने, ‘लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्छ । लगानीकर्तालाई दुःख दिने भन्नेकुरै छैन ।’

जलविद्युत आयोजनाहरूको आईपीओ निस्कासन रोक्नु गलत भएको र धितोपत्र बोर्डले चाँडै शेयर निस्कासन गर्ने धारणा राखे ।

‘शेयर निस्कासन रोकिएको कुरा सुनेँ, धितोपत्र बोर्डले चाँडै शेयर निस्कासन गर्नेछ, यसलाई रोक्नु हुँदैन,’ उनले थपे ।

सभापति देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्राप्त उपलब्धिको पछि देशले अघि बढाएको उदारवाद निजीकरणको नीति रहेको स्पष्ट पारे । यसको कार्यान्वयनका क्रममा भएका कमजोरीको अन्त्य गरी निजी क्षेत्रलाई थप प्रोत्साहित गर्नुपर्ने बताए ।