खोला कब्जा गर्ने प्रवृत्तिको अन्त्य हुनैपर्छ : शर्मा

खोला कब्जा गर्ने प्रवृत्तिको अन्त्य हुनैपर्छ : शर्मा



काठमाडौं ।नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले खोलाको लाइसेन्स एक व्यक्तिको झोलामा खस्ने प्रवृत्तिको अन्त्य आवश्यक रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले लगानी क्षमतावाला व्यक्तिहरूलाई मात्र जलस्रोतसम्बन्धी लाइसेन्स दिनुपर्ने बताए। उनका अनुसार, ऊर्जा क्षेत्रको विकास रोकिनु भनेको नेपाली जनताको लगानी जोखिममा पार्नु र दीर्घकालीन सपना अधुरो राख्नु हो।

उनले लाइसेन्स कसलाई दिइएको हो भन्ने कुराको पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिए।
खोला बेच्ने कुरा मान्य नहुने भन्दै उनले भने–‘म ऊर्जामन्त्री हुँदा खोला बेच्ने कुराको अन्त्य गर्ने भनेर घोषणा गरेको थिएँ । त्यतिबेला रोकेको पनि थिएँ, कतिपय कुरा फिर्ता ल्याएको पनि हो । आज दर्जनौँ परियोजनाहरू एउटा विशेष कम्पनीको नाममा, व्यक्तिका नाममा छन् । आज उत्पादन गर्छौं भन्नेहरूले योजना पाइरहेका छैनन् । यो अवस्थाको अन्त्य गरियोस् ।’

एकै व्यक्तिलाई धेरैजसो योजनाको लाइसेन्स दिँदा अरू इच्छुक लगानीकर्ताहरू योजना पाउने अवसरबाट वञ्चित भइरहेका छन्।

‘ऊर्जा क्षेत्रको विकास नगर्दा नेपाली जनताको लगानी डुब्ने मात्रै होइन, हाम्रो सपना पूरा हुँदैन । हामी धेरै पछि परिसकेका छौँ । तपाईंहरुले दिने लाइसेन्सहरु त्यसको हिसाब किताव अब म खोज्नेवाला छु । कुन व्यक्तिलाई दिनुभएको छ । लगानी गर्नसक्नेलाई दिनुभएको छ कि बिक्री गर्नेलाई दिनुभएको छ ? डेभलपरहरूले योजना पाइरहेको छैन, आज खोलाहरू सबै दर्ता भइसकेका छन् । किन दर्ता भए ? उसले लगानी गरिरहेको छ कि छैन, उसले लगानी गर्नसक्ने क्षमता छ कि छैन भनेर हेर्नुपर्ने छ ।’उनले भने