काठमाडौं महानगरको छात्रवृत्तिमा झन्डै १८ हजार विद्यार्थीको आवेदन

काठमाडौं महानगरको छात्रवृत्तिमा झन्डै १८ हजार विद्यार्थीको आवेदन



काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का लागि खुलाएको छात्रवृत्तिमा १७ हजार ९२९ जना विद्यार्थीले आवेदन दिएका छन्।

देशका सबै ७७ जिल्लाबाट आवेदन प्राप्त भएको छ। असार १८ देखि २७ गतेसम्म खुला गरिएको आवेदन अवधि भित्र प्राप्त आवेदनमध्ये ७ सय आवेदन अस्वीकृत भएका छन्। अब बाँकी १७ हजार २२९ विद्यार्थीले साउन ३ गते हुने परीक्षामा सहभागी हुनेछन्।

२०८० सालदेखि महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आफ्नै परीक्षा प्रणाली सुरु गरेको हो। नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारको रूपमा बालेन्द्र शाह निर्वाचित भएपछि यो प्रक्रिया कार्यान्वयनमा आएको हो।

महानगरभित्रका निजी विद्यालयहरूमा भर्ना हुने विद्यार्थी संख्याको १० प्रतिशतलाई छात्रवृत्तिमा अध्ययन गराउने व्यवस्था मिलाइएको छ। यसै अनुसार प्रतिस्पर्धात्मक परीक्षाबाट योग्य विद्यार्थीलाई छात्रवृत्ति दिइन्छ।

शुरुआतको वर्षमा ८ हजार विद्यार्थीले आवेदन दिएका थिए, जसमा ३ हजार ५५९ जनाले पूर्ण छात्रवृत्ति पाएका थिए। त्यसपछि २०८१ सालमा १२ हजार आवेदन परेका थिए, र ३ हजार ८०१ विद्यार्थीले छात्रवृत्तिमा पढ्न अवसर पाएका थिए।