रसुवा ।अस्थायी प्रहरी पोष्ट मैलुङबाट हत्कडीसहित फरार भएका दुई जना थुनुवा चार घण्टाभित्रै पुनः नियन्त्रणमा लिइएका छन्।
पक्राउ पर्नेमा उत्तरगया गाउँपालिका–२, सिम्लेका २० वर्षीय सुमन उर्फ छिरिङ तामाङ र प्युठानको गौमुखी गाउँपालिका–३ का २५ वर्षीय तनबीर पुन मगर रहेका छन्। दुवैजना निर्माणाधीन त्रिशूली २१६ मेगावाट जलविद्युत् आयोजनामा कार्यरत थिए।
प्रहरीका अनुसार, सोमबार राति उनीहरू हाइड्रोपावरको सामग्री चोरी गर्दै ल्याउँदै गरेको आशंकामा रसुवाको मैलुङस्थित अस्थायी प्रहरी पोष्टको चेकपोष्टमा जाँचका क्रममा पक्राउ परेका थिए। उनीहरू सवार बाप्र०१–०४क–१२७९ नम्बरको आइचर ट्रकमा करिब ५०० किलो तौल बराबरको कवाडी सामग्री फेला परेको थियो।
पक्राउपछि हिरासतमा राखिएका ती दुई जना मंगलबार बिहान हत्कडीसहित फरार भएका थिए। तर, सोही दिन दिउँसो सिम्ले, डाँडागाउँ क्षेत्रबाट प्रहरीले उनीहरूलाई पुनः पक्राउ गरेको जनाएको छ।
फरार थुनुवासँगै ट्रक र बरामद सामग्री पनि हाल मैलुङ प्रहरी पोष्टमै राखिएको छ। थप अनुसन्धान तथा कारबाहीको लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धुन्चेमा पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया