अलास्कामा शक्तिशाली भूकम्प

अलास्कामा शक्तिशाली भूकम्प



अलास्का । अमेरिकाको अलास्का राज्यको दक्षिणी तट क्षेत्रमा बुधबार आएको ७.३ म्याग्निच्युडको भूकम्पपछि जारी गरिएको सुनामी चेतावनीलाई केहीबेरमा नै एडभाइजरीमा झारिएको छ ।

अमेरिकी नेसनल वेदर सर्भिस (एनडब्लूएस) का अनुसार भूकम्प स्थानीय समयअनुसार दिउँसो १२:३७ बजे अलास्काको पोपोफ टापुको स्यान्ड पोइन्ट नामक सानो बस्तीको दक्षिणमा गएको थियो। स्यान्ड पोइन्टमा करिब ६०० जनाको जनसङ्ख्या रहेको छ ।

अलास्का भूकम्प केन्द्रका अनुसार यो कम्पन अनक्रेज शहरसम्म महसुस गरिएको थियो, जुन घटनास्थलदेखि करिब ९६६ किमि टाढा पर्छ । सुरुमा नेसनल सुनामी वार्निङ सेन्टरले होमरदेखि युनिक पाससम्मको लगभग १,१२६ किमि दूरीको क्षेत्रका लागि सुनामी चेतावनी जारी गरेको थियो । उक्त क्षेत्रमा पर्ने कोडियाक जस्ता केही ठुला समुदायहरू पनि समावेश थिए, जहाँ करिब ५,२०० जनसङ्ख्या छ ।

तर, भूकम्प गएको एक घण्टाभित्रै अलास्काको आपत्कालीन व्यवस्थापन विभागले कुनै क्षतिको रिपोर्ट प्राप्त नभएको जनाएको छ । त्यसपछि चेतावनीलाई एडभाइजरीमा झारिएको हो। अन्ततः दिउँसो २:४५ बजेभित्रै चेतावनी पूर्ण रूपमा रद्द गरिएको थियो ।

भूकम्पपछि सुनामीको खतरा न्यून भए पनि स्थानीय अधिकारीहरूले सतर्कता अपनाउन भने आग्रह गरेका छन् ।