नयाँ आर्थिक वर्ष आजदेखि शुरु

नयाँ आर्थिक वर्ष आजदेखि शुरु

विलासिता कर, राजस्व, शुल्क, जरिवाना लगायतका व्यवस्था परिवर्तन


ग्लोब नेपाल
135
Shares

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट आजदेखि कार्यान्वयमा गएको छ । उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलद्वारा सदनमा प्रस्तुत भई पारित भएको बजेट आजबाट लागू भएको हो । अर्थ मन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गरेका थिए ।

प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष शुुरु हुने व्यवस्था अनुसार नयाँ आर्थिक वर्ष शुुरु भएको हो । नयाँ आर्थिक वर्षसँगै सरकारी कारोबारसँग सबन्धित राजस्व, शुल्क, जरिवाना लगायतका व्यवस्था परिवर्तन भएका छन । प्रदेश र स्थानीय सरकारका सबै र सङ्घ सरकारका अधिकांश प्रावधान नयाँ आर्थिक वर्षसँगै लागू हुनेछन् ।

यो वर्ष बजेटमा सरकारले करको दरमा सामान्य मात्रै फेरेको छ । तर, सुनचाँदी व्यवसायीले विरोध गर्दै आएको २ प्रतिशत विलासिता कर आजैबाट कार्यान्वयन हुनेछ । गत आर्थिक वर्षमा सरकार ८३ दशमलब ६ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ११ खर्ब ७८ अर्ब ८२ करोड २ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको हो । बजेट हुन अघि असार महिनामा मात्रै सरकारले २ खर्ब २७ अर्ब भन्दा बढी खर्च भएको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार यही वर्षको १ असारदेखि ३० असारसम्मको तीस दिनमा सरकारले २ खर्ब २७ अर्ब बजेट खर्च गरेको हो ।

असारमा मात्रै सरकारले चालु शीर्षक अर्थात कर्मचारीको तलब भत्ता, गोष्ठीहरुमा १ खर्ब २५ अर्ब सकेको छ । साथै विकासका नाममा पुँजीगत शीर्षकमा यो अवधिमा सरकारले ७० अर्ब ४६ करोड भन्दा बढी रकम खर्च गरिसकेको देखिएको छ । सरकारले सार्वजनिक ऋणको व्ययभार पूरा गर्ने ३२ अर्ब भन्दा बढी असार महिनामा मात्रै खर्च गरेको छ ।

असार ३० गतेसम्म सरकारको सम्रग खर्च प्रणालीले कुल बजेटको करिब ८२ प्रतिशत बजेट खर्च भएको छ । चालु शीर्षकमा ११ खर्ब ४० अर्बको बजेट ल्याइएकोमा समीक्षा अवधिसम्ममा ९ खर्ब ८० अर्ब खर्च भइसकेको छ भने विकास बजेट ३ खर्ब ५२ अर्बका ल्याइएकोमा यो असारको अन्त्य लाग्दा २ खर्ब १४ अर्ब खर्च भएको छ ।