घुस प्रकरणमा मुछिएका मन्त्री अधिकारीले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै

घुस प्रकरणमा मुछिएका मन्त्री अधिकारीले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै



काठमाडौं । घुस प्रकरणमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आज पत्रकार सम्मेलन गर्दै छन् ।

३२ लाख घुस रकम लिएको दाबीसहित नयाँ अडियो क्लिप बाहिरिएपछि दिउसो ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने लागि परेका व्यक्तिहरूको समूहसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि यसअघि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबारमात्रै राजीनामा दिएका थिए ।

सार्वजनिक नयाँ अडियोमा पोखराको जग्गाका लागि घुस रकम लिनेमा गुप्तासँगै भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्री अधिकारीका छोरा मनोज अधिकारीको नाम समेत उच्चारण गरिएको सुनिन्छ ।

अडियोमा जग्गा मिलाउन मन्त्री अधिकारीले छोरामार्फत ३२ लाख लिएको दाबी गरिएको सुनिन्छ भने सामान्य प्रशासन मन्त्री गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको दाबी गरिएको छ । अडियो संवादमा जग्गाका लागि डेढ करोड खर्च भैसकेको सुनिन्छ ।