गुप्तापछि अधिकारी पनि विवादमा, कांग्रेसले माग्यो छानबिन

गुप्तापछि अधिकारी पनि विवादमा, कांग्रेसले माग्यो छानबिन



काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीमाथि ३२ लाख रुपैयाँ घुस लिएको दाबीसहित सार्वजनिक अडियोपछि नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण जनाएको छ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सम्बन्धित निकाय — प्रहरी वा अख्तियार ले तत्काल छानबिन गर्नुपर्ने माग गरेका छन्। “जो दोषी छन्, उनीहरूलाई कारबाही गर्नुपर्छ,” महतले भने।

मन्त्री अधिकारीको नाम एक अडियोमा जोडिएको छ, जसमा पोखराको १३५ रोपनी जग्गा निजी नाममा पास गराउन घुस लेनदेन भएको भनिएको छ। अडियोमा उनका छोरा मनोज अधिकारीमार्फत रकम लिएको दाबी गरिएको छ। त्यही प्रकरणमा मन्त्री गुप्ता र सचिव पोखरेलको नाम पनि आएको छ।

त्यसैगरी, मन्त्री अधिकारीले भक्तपुर मालपोत कार्यालयमा पठाएका प्रमुख मालपोत अधिकृत कुमार आचार्य २४ लाख ५० हजार घुससहित रंगेहात पक्राउ परेपछि उनीमाथिको विवाद झन चुलिएको छ। भक्तपुरको १४ रोपनी जग्गाको पुर्जा बनाउनका लागि घुस मागिएको आरोप छ।

प्रमुख अधिकृतसँगै नायब सुब्बा दीपक अधिकारी र कार्यालय सहयोगी टीकाराम राउत पनि पक्राउ परेका छन्। सरकारभित्र अधिकारीमाथि प्रश्न उठ्न थालेको छ।

यसअघि मन्त्री गुप्ता अडियो प्रकरणकै कारण राजीनामा गरिसकेका छन्। गुप्ता र अधिकारी दुवै एमालेका मन्त्री हुन्।