काठमाडौं । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टीमा फर्कन मिल्छ कि मिल्दैन भनेर पार्टीले निर्णय लिने बताएका छन् ।
पत्रकार विजयकुमार पाण्डेसँग अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीले पार्टी राजनीतिमा फर्कने विषयमा आफूसँग सल्लाह पनि नगरेको बताए ।
‘यसमा उहाँले अरूसँग मलाई थाहा छैन, मसँग सरसल्लाह गर्नुभएन र पार्टीमा आधिकारिक ढंगले सरसल्लाह गर्नुभएन, कुनै मौखिक वा लिखित पार्टीमा केही गर्नु भएन,’ पूर्वराष्ट्रपति भण्डारीलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले भने ।
चीनले नेपालका कम्युनिष्टलाई एक बनाउने प्रयास गरेको बारेमा पनि पाण्डेले सोधेको प्रश्नमा ओलीको जवाफ थियो– नेकपा एमाले गोलबन्द छ त । फेरि कसलाई ? यो यस्तो हाइपोथेसिस र हिपोक्रेसीमा म विश्वास गर्दिनँ । एकता गरेर तर मारेका क्रिमियरहरुलाई फेरि ल्याएर पार्टीले के लाभ लिन्छ ? कम्युनिष्ट पार्टीलाई लाइट बालेर खोज्दा पनि नभेटिने बनाइदिन्छु भन्नेलाई फेरि ल्याउने ?”
उनले भण्डारी पार्टीको उपाध्यक्ष भएका बेलामा राजीनामा गराएर राष्ट्रपति बनाएको स्मरण गर्दै ओलीले अहिले एमालेको राजनीतिमा फर्किनेबारेमा उनले केही सल्लाह नगरेको बताए ।
“विद्याजीको हकमा उहाँले कहाँ–कहाँ परामर्श गर्नुभयो । कतै त गर्नुभयो होला परामर्श नभई पार्र्टीको अध्यक्ष म छु । पार्टीसँग उहाँको कुनै प्रस्ताव आएन– म राजनीतिमा फर्केर आउँछु, कसरी काम गरौँ । म राजनीतिमा आउन मिल्छ कि मिल्दैन ? आउँ कि नआउँ ? भनेर उहाँले छलफल गर्नुभएको छैन । देशलाई फाइदा हुन्छ कि हुँदैन ? प्रणालीगत हिसाबले के हुन्छ ? भनेर उहाँले सल्लाह गर्नुभएको छैन । फेरि फर्किएर सक्रिय राजनीतिमा आउँदा सर्वमान्य नेताबाट दल विशेषको नेता हुन आउँदा के हुन्छ भन्ने विषयमा विचार विमर्श गरौँ भनेर भन्नुभएको छैन ।”
उनले अरुसँग सल्लाह गरेको भए आफूलाई थाहा नभएको बताउँदै भनेका छन्– “अरुसँग गरेको भए मलाई थाहा छैन । मसँग सल्लाह गर्नुभएको छैन । पार्टीमा आधिकारिक ढंगले छलफल गर्नुभएको छैन । उहाँको विषयमा पार्टीले निर्णय गर्नुपर्छ । उहाँ आफ्नै हिसाबले जानुभएको होइन, हामीले पठाएको हो । पार्टी छाडेर जानुभएको हो । त्यसैले पार्टीले निर्णय त गर्नैपर्छ । उहाँले प्रश्न उठाएर आउँछु भनेपछि आउन हुन्छ कि हुँदैन ? समाज र व्यवस्थामा के असर पर्छ ? उहाँकै जीवनमा के असर पर्छ उहाँमाथि गरिनुपर्ने निर्णय पार्टीले गर्छ नै । यो हेर्नुपर्छ, सल्लाह गर्नुपर्छ । उहाँ आफैँले विचार गर्नुपर्छ । हामीले पनि जानकारी प्राप्त गरेका छौँ । सार्वजनिक ढंगले आउँछु भनेका कुराहरु । उहाँसँग हामीले सोध्नुपर्छ ।”
पूर्वराष्ट्रपति भण्डारीले हालै एमालेको सदस्यता नवीकरण गरेकी थिइन् ।


प्रतिक्रिया