काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफूले घूस मागेको भेटिए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले परिवालाई समेत मुछेर आफ्नो चरित्रहत्या गर्ने काम भइरहेको बताए ।
“मेरो नामसँग मुछेर, मेरो परिवारसँग मुछेर, हाम्रो चरित्र हत्या गरेर आफ्नो अभिष्ट पूरा गर्ने अभ्यास गरिएको छ,” मन्त्री अधिकारीले भने, “म यहाँहरूलाई विनम्र अनुरोध गर्छु, सही र तथ्यलाई बताइदिनुहोस् । मैले मागेको कुरा, गरिन्छु भनेको कुरा अडियोमा भेट्नुभयो भने म जस्तोसुकै सजाय भोग्न पनि तयार छु ।”
मन्त्री अधिकारीले कर्मचारी सरुवामा घुस लिएको दाबीसहितको एउटा अडियो सार्वजनिक भएपछि उनले बिहीबार स्पष्टीकरण दिएका हुन् । उनले मिडियालाई हल्लाको पछि नलागी सत्यतथ्य बुझेरमात्र समाचार दिनसमेत आग्रह गरे ।
“सुजन लामालाई चिन्दा पनि चिन्दिनँ, जान्दा पनि जान्दिनँ । कर्मचारीको थमौती गर्न दुई–तीनजना मान्छे लिएर आएका थिए । यो हुँदैन भनेको थिएँ,” उनले भने ।
मन्त्री बलराम अधिकारीले मन्त्रिपरिषद् पुनर्गठन हुने तयारीमा रहेको बताएका छन् ।
उनले भनेका छन्, “मन्त्री पदको के भने, सधैंको निम्ति पनि होइन । एक वर्ष पछि मन्त्रिपरिषद् पुनर्गठन हुने सहमति नै हो । सहमतिको आधारमा पुनर्गठन हुनेवाला नै छ । त्यो हुँदा को हुन्छन् को हुँदैनन्, छुट्टै कुरा हो । सबै हुन्छन् कि । त्यो एउटा पाटो हो ।”
उनले पदमा रहुन्जेल जिम्मेवार तरिकाबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए । “जहिलेसम्म होइन्छ आफूलाई परेको जिम्मेवारी जिम्मेवार तरिकाबाट पूरा गर्ने हो । जतिबेला जुन जिम्मेवारीमा रहन्छ त्यही अनुसार अगाडि बढिन्छ,” उनले भने ।


प्रतिक्रिया