काठाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयले प्रवेश पाएको छ । पार्टी सचिव योगेश भट्टराईका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नै यो विषयमा आवश्यक छलफल हुने बताएका हुन् ।
‘अध्यक्षले त्यस विषयमा आवश्यक परे छलफल गरौँ भन्नुभएको छ । आजको बैठकमा भ्याइएन भने पनि कुनै न कुनै बैठकमा छलफल हुन्छ’, भट्टराईले भने । एमाले राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति भण्डारीलाई आवश्यक जिम्मेवारी दिनेबारे पनि छलफल भएको उनले बताए ।
‘फर्किन्छु भनेर आफ्नो सेवा सुविधा त्यागेर आइसकेपछि यो पार्टीको मामला भयो । उहाँ आउनुहुन्छ भने उचित स्थान पनि दिनुपर्ला।’ भट्टराईले पत्रकारहरूसँग भने ।
तर भण्डारीलाई जिम्मेवारी दिनेबारे उच्च तहमै छलफल हुनुपर्ने उनले बताए । ‘हाइ लेभलमा कुरा होस् भन्ने चाहना छ । त्यसपछि आवश्यक पर्यो भने सचिवालयमा छलफल गर्छौ, केन्द्रीय कमिटीमा छलफल गर्छौ’, भट्टराईले भने ।
विधान महाधिवेशनको एजेण्डा तय गर्ने एमालेमा आजबाट बैठक सुरु भएको छ । आजको सचिवालयपछि भोलि पोलिटब्यूरो र ५ साउनमा केन्द्रीय कमिटी बैठक बस्दै छ ।
वरिष्ठ उपाध्यक्ष हटाइने, केन्द्रीय कमिटी १९९ मा झारिने
नेकपा (एमाले) को जारी सचिवालय बैठकमा १९ सदस्यीय पार्टी पदाधिकारी घटाएर ११ कायम गर्ने प्रस्ताव पेश भएको छ ।
उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उक्त व्यवस्था गरिएको हो ।
एमालेमा अहिले वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिकारी छन् । अध्यक्षसहित ३ उपाध्यक्ष, एक–एक महासचिव र उपमहासचिव तथा पाँच सचिवको प्रस्ताव संशोधित विधानमा रहेको एक नेताले बताए । १९९ केन्द्रीय सदस्य संशोधित विधान प्रस्तावमा उल्लेख छ ।
पदाधिकारी संख्या संकुचित गर्दा कतिपय नेताको व्यवस्थापनमा जटिलता हुने भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताले असहमति प्रकट गरेका छन् ।
विधान संशोधन प्रस्तावमा ७० वर्षको उमेर हद र २ कार्यकालको व्यवस्था हटाइएको छ । यद्यपि, पूर्वव्यवस्था हटाउनुपर्ने आधार र तर्कको खोजी हुनुपर्ने कुरा उठेपछि छलफल लम्बिएको बैठकमा सहभागी एक नेताले बताए ।


प्रतिक्रिया