काठमाडौं । नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १० घण्टा चल्यो ।
मध्यरात सकिएको सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको नयाँ विधानको प्रस्तावित मस्यौदामा बहुत चर्चामा रहेको ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाउने निर्णय गरेको थियो । सचिवालयमा बहुमतका आधारमा भएको निर्णयले एमालेभित्र विवादको नयाँ शृंखला सुरु भएको छ ।
महासचिव शंकर पोखरेलले सचिवालय बैठकका निर्णयपछि (भोलिपल्ट) आज बिहान ९ बजे सामाजिक सञ्जालमा लेखेका छन्– ‘विधि निर्माणको अन्योल अन्त्य भएको छ । मिसन २०८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ ।’
महासचिव पोखरेलले फेसबुकमा लेखेको २ घण्टापछि अर्थात् ११ बजेर १३ मिनेटमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काउन्टर जवाफ फर्काएका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भनेका छन्, ‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो । आज पोलिटब्युरो सदस्यहरूका बीचमा छलफल हुनेछ । पोलिटब्यूरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल बहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनु हुनेछ ।’
महासचिव शंकर पोखरेललाई थप कडा जवाफ सञ्जालमार्फत नै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दिँदा एमालेभित्र बढ्दो अध्यक्ष ओली र विद्या भण्डारी समूहको रस्साकस्सीको सुरुवात भएकाे भान हुन्छ ।
अध्यक्ष केपी ओली र महासचिव पोखरेल एमालेको सक्रिय राजनीतिमा विद्या भण्डारीलाई रोक्न चाहन्छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भने पूर्वराष्ट्रपति भण्डारीको पक्षमा छन् । यही विषयमा हिजोको बैठकमा अध्यक्ष ओलीसँग उनले केही विषयमा फरक मत राखेको चर्चा छ ।


प्रतिक्रिया