काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनमा जान बाध्य नपार्न सरकारसँग आग्रह गरेको छ । महासंघसँग भएका सम्झौता कार्यान्वयन नगरे आन्दोलनमा जाने चेतावनी दिएकाे छ ।
साउन २१ गतेसम्म शिक्षा विधेयक पारित नगरे आन्दोलनमा जाने महासंघले सरकारलाई अल्टिमेटम दिएको छ ।
सरकार इमानदार नरहेको महासंघको आरोप छ । “असार १५ गते शिक्षा विधेयक पारित गर्ने सरकारले प्रतिवद्धता जनाएको थियो । तर, षड्यन्त्र भयो,” महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, “२९ दिने आन्दोलनपछि सहमति गरिएको थियो । साउनको २१ गतेभित्र शिक्षा विधेयक पारित होस् । हामीलाई आन्दोलनमा जान बाध्य नबनाइयोस् ।”
विधेयक पारित नभएपछि आन्दोलन र त्यसबाट उत्पन्न हुने कठोर परिणामप्रति राज्यपक्ष नै जिम्मेवार हुने महासंघले जनाएको छ ।
२०७५, २०७८, २०८० र २०८१ सालमा भएको सम्झौता अनुसार ऐन जारी हुनुपर्ने माग महासंघको छ ।
अन्तिम पटक गत २० चैतदेखि २९ दिन लामो शैक्षिक सडक आन्दोलन भएको थियो । र, १७ वैशाखमा १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो । तर अहिलेसम्म पनि ऐन जारी नभएपछि महासंघ आक्रोशित भएको हो ।




प्रतिक्रिया