विद्या भण्डारीको सदस्यता नवीकरण भएको छैन : ओली

विद्या भण्डारीको सदस्यता नवीकरण भएको छैन : ओली

‘कसैले उचालेका भरमा पूर्वराष्ट्रपति राजनीतिमा फर्कनु हुँदैन’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले सदस्यता नवीकरण नै नभएको बताएका छन् । कसैले उचालेका भरमा पूर्वराष्ट्रपतिले राजनीतिमा फर्कनु गम्भीर विषय भएकोसमेत बताएका छन् ।

आजको पाेलिटब्यूराे बैठकमा बोल्दै ओलीले पार्टीका विरुद्ध ठूलो संगठित हमला भइरहेको दाबी गरे । यहीबेला पार्टी भित्रबाट पनि हमला सुरु भएको र यो रोकिनुपर्ने उनको भनाइ थियो । ओलीले भने, ‘पार्टीभित्रको अराजकतालाई रोक्नुपर्छ, नभए पार्टीले रोक्छ ।’

पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउने कुरा पत्रिकाबाट थाहा भएको उनले दाबी गरे । भण्डारीको पार्टी सदस्यता नवीकरण नभएको र यसको निर्णय कमिटीले गर्ने उनको भनाइ छ ।

‘उहाँलाई दुईपटक पार्टीले राष्ट्रपतिमा पठाएको हो, अहिलेको संवैधानिक व्यवस्थाअनुसार फर्किनुहुन्न भनेर जिम्मेवारी दिइएको हो’, उनले भने, ‘उचालेका आधारमा उहाँ सक्रिय राजनीतिमा आउनु हुँदैन । उहाँप्रतिको विश्वासको कुरा हुन्छ । पार्टीको सदस्यता नवीकरण भएको छैन । सदस्यताको निर्णय कमिटीले गर्छ । विधिसम्मत छलफल गरेर निर्णय गर्ने हो । यो मेरो व्यक्तिगत धारणा हो’, ओलीले भने ।

उनले थपे, ‘गणतन्त्रको गौरवको रुपमा रहेको व्यक्ति, राष्ट्रिय एकताको प्रतीक बनिसकेको व्यक्ति आएर राजनीतिमा प्रवेश गर्ने कुरा एउटा गम्भीर विषय हो ।’

पार्टीको पद्धति र प्रकृयाका विषयमा पार्टीभित्रै छलफल हुने उनले प्रष्ट पारे । पार्टीमाथि आक्रमण भएका बेला बाहिर गएर बोल्ने कुरा उचित नहुने उनले बताए ।

‘कभर मात्र फरक पर्यो भनेर कर्ण थापाले बोल्नुभयो । आखिरीमा कभरको कुरा रहेछ, किन यो बबण्डर ?’, ओलीले प्रश्न गरे ।