काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे महासचिव शंकर पोखरेलले नै नवीकरण भएको भनेर भनिसकेको बताएका छन् ।
अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल चलिरहँदा पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले अहिले पार्टी राजनीतिबारे बाहिर आइरहेका विषयमाथि ओली र भण्डारीबीच छलफल चलिरहेको बताए ।
पोखरेलले भने, ‘सदस्यता नवीकरण गरिसकेको विषय त महासचिवले नै भनिसक्नुभएको छ ।’ उनले आजको छलफलमा जिम्मेवारी तोक्ने लगायतका विषयमा छलफल भइरहेको हुनसक्ने बताए ।
पार्टीमा आउँदा पनि सल्लाह गरेर आउनेगरी छलफल भइरहेको उनले बताए ।
त्यसैगरी पूर्वराष्ट्रपति भण्डारीसँगै च्यासल पुगेका नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पनि भण्डारीले दुई वर्षको सदस्यता नवीकरण गरिसकेको दाबी गरेका छन् ।
उनले भने, ‘नवीकरण एक वर्षअघि नै गर्नुभएको हो । अघिल्लो वर्षको एक वर्षअघि नै गर्नुभएको हो र यो वर्षको पनि भइसकेको छ । कसले के भन्नुभयो थाहा छैन । तर, हिजो कुनै निर्णय भएको होइन । पेन्डिङमा होइन । हिजो त्यस्तो निर्णय भएको होइन ।’
सचिवालय र पोलिटब्युरो बैठकमा आएको सुझाव अनुसार नै उनीहरूबीच वार्ता चलिरहेको उनले बताए ।
पार्टीभित्र द्वन्द्व समाधान हुन नसक्ने अवस्थामा पुगेको जस्तो आफूलाई नलागेको पनि उनले बताए । दुई जनाबीच कुनै कित्ताकाट नभएको पनि उनले दाबी गरेका छन् ।


प्रतिक्रिया